आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने कुरालाई माओवादीको प्राथमिकता : प्रचण्ड

नेपालखोज २०७८ फागुन २८ गते १४:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै ताकत र खुट्टामा उभिएर चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकता दिएको बताएका छन् । आज नुवाकोट पुगेका उनले प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्पूर्ण रुपमा पार्टी चुनावमा केन्द्रित भएर जानुपर्ने बताए ।

निर्वाचन केन्द्रित दुई महिने अभियान लिएर जाने प्रचण्डले बताए । उनले भने, ‘अहिले हाम्रो पार्टी पनि निर्वाचनमा होमिएको छ । निर्वाचन केन्द्रित दुई महिने अभियान लिएर जाँदैछौं । एमसीसीलाई लिएर फेरि विभाजित हुने हो कि भन्ने चर्चा उठे । हामीले केन्द्रीय कमिटीमा पनि यो विषयमा छलफल भएको छ, सम्पूर्ण रुपमा चुनावमा केन्द्रित भएर जानुपर्छ । अभियान पनि देशव्यापी रुपमा चल्नुपर्छ। पार्टीलाई विजयी बनाउने योजना छ ।’

उनले चुनाव जित्ने कुरालाई प्राथमिकता दिएको पनि बताए । उनले भने, ‘हामी आफ्नै ताकतमा चुनाव लड्छौं । तर, तालमेल गर्दा गठबन्धनकै बीचमा जोड गर्ने भन्ने छ । एमसीसी जस्ताको त्यस्तै पारित गर्नुहुँदैन् भन्ने पार्टी माओवादी केन्द्र हो । राजनीतिक घट्नाक्रम बढ्दै जाँदा, त्यसपछि एउटा परिस्थिति बन्यो कि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरियो । अब यसलाई चुनावपछि व्यापक छलफल र बहस चलाउँछौं । विभिन्न फोरममा यो विषयमा बहस चल्छ ।’

उनले पार्टीका दवंगत नेता पोष्टबहादुर बोगटीलाई सरल मिलनसार व्यक्तित्वको धनी भनेर चित्रण गरे । उनले भने, ‘पोष्टबहादुर बोगटी, देशकै लोकप्रिय नेताको रुपमा स्थापित हुनुहुन्थ्यो । नेपाली जनताको सर्वोच्च हितको लागि जीवन समर्पित गर्नुभयो । सरल र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो । जुन जुन जिम्मेवारी लिनुभयो, सबै पक्षलाई मिलाएर खासगरी समन्वयकारी भूमिकासहित काम गर्नुभयो । विचार राजनीति र मुद्दामा दृढ रहनुभयो । नेपालकै कम्युनिष्ट आन्दोलनको एउटा स्थलको रुपमा नुवाकोटलाई चिनाउने काम हुन्छ । आज उहाँको शालिक अनावरण गर्न आएका छौं ।’

प्रचण्डले तालमेल गर्दा सत्ता गठबन्धनकै बीचमा गर्ने नीति रहेको समेत प्रष्ट पारे । अध्यक्ष प्रचण्डले भने, ’अब पार्टी पूरै चुनावमा केन्द्रित भएको छ । हामी आफ्नै खुट्टामा उभिएर, आफ्नै ताकतमा जित्ने कुरालाई उच्च प्राथमिकतामा राखेका छौं । कसैसँग तालमेल गर्ने स्थिति भएमा त्यसमा पनि ध्यान दिने र तालमेल गर्दा गठबन्धनकै बीचमा गर्ने नीति छ ।’

प्रतिक्रिया