आइतबार, वैशाख २८, २०८२

झापा गोल्डकपमा संकटालाई हराउँदै फाइनलमा घरेलु टोली

नेपालखोज २०७८ फागुन २८ गते १८:०४

काठमाडाैं । घरेलु टोली झापा ११ फुटबल क्लब नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार ए डिभजन क्लब संकटालाई २-० ले हराउँदै झापा उपाधि नजिक पुगेको हो ।

झापा ११ ले फाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै आर्मी फाइनल पुगेको थियो । झापाका लागि दुवै गोल विमल घर्तीमगरले गरेका हुन् ।

दोस्रो सेमिफाइनलको १६ औं मिनेटमा विमलले गोल गरेका थिए । एन्द्रियस नियाको पासमा विमलले विपक्षी गोलकिपरलाई छलाउँँदै नजिकबाट गोल गरेका थिए । झापा ११ का लागि विमलले अर्को गोल ५७ औं मिनेटमा गरेका थिए । मैदानको दायाँबाट विकास मेराल्गियाले दिएको पासलाई पेनाल्टी बक्स भित्रबाट विमलले सहज गोल गरेका हुन् । प्रतियोगितामा विलमको गोलसंख्या ४ पुगेको छ । क्वार्टरफाइनलमा उनले पेनाल्टीमार्फ २ गोल गरेका थिए ।

पहिलो हाफमै संकटाले पनि पटक-पटक गोल फर्काउने मौका पाए पनि सफल भने हुन सकेन । यानिकले नजिकबाट गरेको प्रहारलाई झापाका गोलकिपर दीप कार्कीले जोगाएका थिए । ३० औं मिनेटमा यानिककै प्रहारलाई विश्वास श्रेष्ठले गोललाइनबाट क्लियर गरेका थिए । ३३ औं मिनेटमा फोडे फोफेनाको क्रसमा यानिकको हेड प्रहार दीपले सहजै रोकेका थिए । दोस्रो हाफमा संकटाले खासै आक्रमण बनाउन सकेन ।

आजको खेलको प्लेयर अफ दि म्याच झापा ११ का विमल घर्ती मगर भए । उनले नगद ९९९९ रुपैयाँ प्राप्त गरे । मछिन्द्र फुटबल क्लब सुदूरपश्चिमको खप्तड गोलकपबाट बाहिरिएपछि विमललगायत विशाल राई, देवेन्द्र तामाङ झापा ११ बाट खेलिरहेका छन् । विशालले झापा ११ को कप्तानी गरिरहेका छन् । फाइनल सोमबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेताले नगद ६ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ ।

प्रतिक्रिया