आइतबार, वैशाख २८, २०८२

खेलकुद महासंघ मातहतका २७ राष्ट्रिय खेल संघहरुको आयोजक कमिटी घोषणा

नेपालखोज २०७८ फागुन २८ गते २०:१९

काठमाडौं । नेपाल खेलकुद महासंघले मातहतका विषयगत खेल संघहरुको घोषणा गरेको छ । आज काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले विभिन्न २७ खेलका राष्ट्रिय संघको आयोजक कमिटी बनाएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । अहिले बनेको परमादेशी सरकार र त्यसका गलत कामको भण्डाफोर गर्न खेलकुद क्षेत्र लाग्नुपर्ने बताउँदै पोखरेलले महासंघले खेल, खेलाडी र सम्पूर्ण खेलकुद क्षेत्रको नेतृत्व गर्न अगाडी बढ्नु पर्ने धारणा राखेका छन् ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा महासंघका इन्चार्ज गोकुल बास्कोटाले नेकपा एमालेका अन्य जनसंगठन जस्तो महासंघमा गुटबन्दी र समूहवाजी नभएको बताउँदै अबका दिनमा झन सशक्त र मजबुत भएर पार्टीको मूल सिद्धान्त सफल बनाउन लाग्नुपर्ने धारणा राखेका थिए ।

कुनै नेता विशेषको घरदैलो धाउने भन्दा महासंघका काम र योजनालाई लिएर अगाडी बढे मात्र खेलकुद महासंघको मूल मर्म सफल हुने बताउँदै बास्कोटाले पार्टीलाई दबाब र प्रभाव पार्ने खालका योजना र मुद्दा अगाडी सार्न निर्देशन समेत दिएका थिए ।

महासंघका पूर्व अध्यक्षसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य एवं महासंघका सहईन्चार्ज रमेशकुमार पौडेलले खेलाडीहरुलाई समयानुकुल वैज्ञानिक प्रशिक्षणका साथै उनीहरुको भत्ता तथा निवृत्तिभरणका सवाललाई खेलकुद महासंघ र महासंघ अन्र्तगतका राष्ट्रिय खेल संघहरुले मूल मुद्दा बनाउनुपर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया