‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान आजदेखि सुरु हुँदै

नेपालखोज २०७८ फागुन २९ गते १०:५९

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि (आज) आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान सुरु गरेको छ। आगामी चैत्र २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ ।

पार्टी प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको बताए ।

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीतिसाथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टीलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराइने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानुपरेको यथार्थ जनसमक्ष राख्ने, र कांग्रेसको नेतृत्वमा सरकार बनेपछि छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेकोलगायत सरकारका जनहितकारी कार्य अभियानको उद्देश्य रहेको बताए ।

अभियानका क्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) संसदबाट सहमतिमा पारित गर्न सफलता प्राप्त गरेको विषय र त्यसबारेका भ्रम र दुष्प्रचारलाई चिर्दै वास्तविकरूपमा राख्ने कांग्रेसले जनाएको छ । कांग्रेसले अभियान सुरुहुन दुईदिन अघि सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि पुगिसक्ने गरी खटाएको छ । संघीय संरचना निर्माणपश्चात प्रथम अभियान प्रभावकारीरूपले सफल बनाउन पार्टीको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको छ ।

केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गर्ने, सम्पूर्ण कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक जिम्मेवारी बाँडफाँट गर्ने, अभियानका कार्यक्रम व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय गर्ने, केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो प्रदेशभित्र अभियानमा आवश्यकताअनुसार थप कार्यक्रम तर्जुमा गर्ने र आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने गरी प्रदेश समितिलाई जिम्मेवारी तोकिएको प्रवक्ता डा.महतले बताए । सबै जिल्लामा , एकै समयमा आइतबार (आज) दिउँसो १ बजे एकैसाथ जिल्लास्तरीयरूपमा अभियान शुभारम्भ हुदैंछ । –रासस

प्रतिक्रिया