प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस, यस्ता छन् आरोप ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस भएको छ । महाअभियोगका प्रस्ताव एवं नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले आज बैठकमा महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।
संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम गुरुङसहित सांसदहरु पुष्पा भुसाल र जीवन राम श्रेष्ठ प्रस्तावक तथा ९५ जना सांसदहरु समर्थक रहेको प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव प्रस्तुत भएको हो । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत गएकाले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग ल्याउनुपरेको भन्दै गुरुङले महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारणबारे बैठकमा जानकारी गराएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीकैबीच बैठकमा महाअभियोग प्रस्ताव पेस गरिएको हो महाभियोग प्रस्तुत गर्दै गुरुङले प्रधानन्यायाधीश जबराले संविधान र पदीय आचरण विपरित कार्य गरेको बताए । उनले संविधानको धारा १०१ को उपधारा (२) मा व्यवस्था भए बमोजिम संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेकोले प्रतिनिधि सभामा कायम रहेका एक चौथाई बढी सांसदले महाअभियोग पेश हुने सूचना गरेको गुरुङले बताए ।
गत फागुन १ गते प्रधानन्यायाधीश विरुद्ध ३ जना सांसद प्रस्तावक र ९५ जना सांसदको समर्थनमा महाअभियोग दर्ता गरिएको थियो ।

प्रतिक्रिया