‘जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमाले पनि सहभागिता हुन्छ’

नेपालखोज २०७८ फागुन २९ गते १६:५८

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री बडूले न्यायपालिकालाई सुदृढ र शुद्धीकरण गर्नका लागि महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पनि सहभागिता हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले महाअभियोगलगायत संसदमा रहेका अन्य विधेयकको सम्बन्धमा पनि एमालेसँग छलफल गरिरहेको बताए । उनले भने – ‘मुलुकको स्वतन्त्र न्यायपालिकालाई सुदृढ गर्ने, शुद्धीकरण गर्ने र मर्यादित बनाउने यस्तो विषयमा मलाई लाग्छ, सबैको सहभागिता हुन्छ । सबैले छलफलमा भाग लिन्छन् । सबैले निर्णय प्रक्रियामा भाग लिन्छन् । अरु विधेयकका बारेमा पनि हामी प्रमुख प्रतिपक्षसँग छलफल गरिरहेका छौँ । नागरिकता विधेयक छ । संघीय निजामती सेवा ऐनको विधेयक छ । तेजाबसम्बन्धी विधेयक छ । तिनीहरुलाई पनि हामी प्रतिस्थापन विधेयक ल्याउने संसदमा हामी छलफल गरिरहेका छौँ ।’

त्यस्तै, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङले महाअभियोगको प्रस्ताव समितिमा छलफलका लागि जाने र एमालेले समितिमा छलफलमा भाग लिने बताएका छन् । संसद अवरोधको सम्बन्धमा भने पार्टी छलफलमै रहेको उनले उल्लेख गरे ।

त्यस्तै, नेकपा (एमाले)का सांसद् खगराज अधिकारीले सरकार र सभामुखले संसद अवरोध गरिरहेको आरोप लगाए । संसदलाई प्रभावकारी बनाउन नदिन गलत कामहरु गरिरहेको उनले बताए । सांसद अधिकारीले महाअभियोगको सम्बन्धमा समितिमा एमालेले छलफलमा भाग लिए पनि प्रतिनिधि सभामा भने विरोध जारी राख्ने बताए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद् झलनाथ खनालले निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई पूर्णरुपमा लागु गराउनुपर्ने बताएका छन् । आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न उनले आयोगलाई आग्रह गरे । खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित हुने बताए ।

प्रतिक्रिया