वाग्मती प्रदेशमा विद्युतीय बसका लागि छुट्याइएको बजेट अन्य काममा खर्च गरिने

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यस अघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाएका छन् । आज प्रदेशसभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोडको बजेट राखेको तर नर्माण सुरु गरेदेखि सम्पन्न गर्ने बेलासम्म झन्डै २४ अर्ब लाग्ने स्थिति रहेको बताए । उनले सुरुङ र सडक निर्माणका लागि विदेशी बैंकहरुले ऋण दिन इच्छुक रहेको बताउँदै तत्काल नबन्ने काममा सानो बजेट छुट्याएर बजेट फ्रिज गर्न नमिल्ने बताए ।
उनले चार्जिङ स्टेशन नबन्दासम्म र सडक विद्युतीय बस चलाउन लायकको नभएर विद्युतीय बसका लागि छुट्याइएको बजेट अन्य जनहितका काममा खर्च गरिने घोषणा गरे । मुख्यमन्त्री पाण्डेले अघिल्लो सरकारले विद्युतीय बस र सुरुङका लागि छुट्याइएको बजेट अहिलेसम्म खर्च नभएको पनि बताए
मुख्यमन्त्री पाण्डेले मन्त्रालयलाई व्यवस्थित गर्नसके जनताको धेरै काम सहज हुने, चाँडो हुने र सोही उद्देश्यका साथ मन्त्रालयको संख्या बढाएर १४ पुर्याएको बताए । उनले हाल १५ लाख नागरिक सवारी चालक अनुमति पत्र लिने लाइनमा रहेको र अब प्रदेश सरकारले त्यसलाई चाँडो सक्नको लागि ट्रायल सेन्टर बढाउने कार्यविधि पास गरेको बताए ।
मुख्यमन्त्री पाण्डले अहिले विज्ञान र प्रविधिको समय भएको उल्लेख गर्दै सवारी साधनहरुमा क्यासलेस सिस्टमको विकास गर्न आवश्यक रहेको र सोही दिशातर्फ प्रदेश सरकारले काम गरिरहेको बताए । उनले चालक सहचालकहरुको जागिर असुरक्षित भएको भन्दै प्रदेश सरकारले अब उनीहरुलाई पनि सम्मानित कर्मचारीको हैसियतमा रहेर काम गर्ने स्थिति बनाउन लागेको बताए ।
मुख्यमन्त्री पाण्डेले यस आर्थिक वर्षमा अहिलेसम्म २० प्रतिशत बजेट मात्रै खर्च हुन सकेको भन्दै अब विकासका कार्यक्रम धमाधम शुरु हुने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया