राष्ट्रपति भण्डारीद्वारा बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित संघदान प्रदान

नेपालखोज २०७८ फागुन २९ गते २१:११

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित संघदान प्रदान गरेकी छन् । नेपाल बज्रयान महाविहार सङ्घ लुम्बिनीले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजना गरेको प्रबज्या संवर ग्रहण गरेका भिक्षुभिक्षुणीलाई राष्ट्रपतिद्वारा सङ्घदान प्रदान गरिएको हो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले मौलिक सभ्यताको संरक्षण र संवद्र्धनका लागि सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताइन्। उनले बौद्ध दर्शनको सांस्कृतिक र आध्यात्मिक परम्पराबाट मौलिकता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले हरेक धर्मको संरक्षण संवद्र्धनमा जोड दिँदै सोका लागि आफूले पनि आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको बताइन्। नेपालमा बिगतदेखि मनाउँदै आइएकोे नेपाल सम्यक् महादान पर्व पुनः मनाउने मागका सन्दर्भमा आफू सकारात्मक रहेको भन्दै राष्ट्रपति भण्डारीले त्यस सम्बन्धमा आवश्यक निर्णय लिइने बताइन्।

बिहारका चक्रेश्वर प्राध्यापक डा नरेशमान बज्राचार्यले नेपालमा एक हजार ५०० वर्षभन्दा पहिलेदेखि चलिआएका यस्ता परम्परा नासिन नहुने बताउँदै बज्राचार्यले यस्ता सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

बज्राचार्यले नेपाल सम्यक् महादान पर्व मनाउने परम्परा बिगत लामो समयदेखि रोकिएको र सोको पुनः सुरुआत गर्न सरकारको साथ आवश्यक रहेको बताए। लुम्बिनीस्थित नवनिर्मित बिहार हालै मात्र राष्ट्रपति भण्डारीद्वारा समुद्घाटन भएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, बौद्धधर्म गुरुहरु, भिक्षु भिक्षुणीलगायत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया