एनएसएलविरुद्ध विरोध जनाएका आठवटा क्लबमै मतभिन्नता

काठमाडाैं । नेपालमा दोस्रो संस्करणका रुपमा हुन लागेको नेपाल सुपर लिगकोविरुद्धमा विरोध जनाएको आठवटा ए डिभिजन लिग क्लवमा नै मतभिन्नता देखिन थालेको छ । दुई सातामा आठवटा क्लवले संयुक्त रुपमा विज्ञप्ती जारी गरे ।
आफ्नो क्लवमा सम्झौतामा रहेका खेलाडीलाई बिना स्वीकृती अर्को क्लवले अनुबन्ध गर्न नपाउने वा सम्झौता गर्दा पूर्व स्वीकृती लिनुपर्ने भन्दै संयुक्त विज्ञप्तीमा उनीहरुले हस्ताक्षर गरेर सार्वजनिक गरेका थिए । ए डिभिजन क्लवले एन्फालाई ध्यानाकर्षणपत्र पठाएपछि एन्फासँग छलफल गरेर एनएसएलको अक्सन रोक्नका लागि पत्राचार गर्ने निर्णय भएको थियो । तर एनएसएल आयोजकले सबै तयारी पुरा भएको र अन्तिम समयमा नरोक्ने भन्दै अक्सनलाई सफल रुपमा सम्पन्न गर्यो ।
आक्रोशमा आठवटा क्लवले फेरि बैठक बसेर एनएसएलको आधिकारीकतामा नै एन्फाको बैठकमा प्रश्न उठाएका थिए । त्यो बेला केहि क्लवका पदाधिकारीले यदि एनएसएल आयोजकले एन्फाको बेवास्ता गरेर अगाडी बढेको खण्डमा त्यसलाई खारेज गर्नुपर्नेसम्मको कुरा बैठकमा गरेका थिए । यो बिषयमा केहि क्लवका पदाधिकारीले एन्फाले आफुहरुलाई गुम्राहमा राखेको र संयुक्त पत्रकार सम्मेलन गरेर सबैकुरा बाहिर ल्याउने बताएका थिए । तर पछि त्यो पत्रकार सम्मेलन के कारणले हुन सकेन, त्यो अझै प्रष्ट छैन ।
तर अहिले आएर आठ क्लवमा चार क्लवले एनएसएलको विरोधमा हस्ताक्षर नगर्ने भएको एन्फा स्रोतले बताएको छ । पछिल्लो पटक आठ क्लवमा लिग च्याम्पियन मच्छिन्द्र, जाउलाखेल, फ्रेन्ड्स, सातदोबाटोले यसअघिको अडानबाट पछि हट्ने निर्णयमा पुगेको एन्फा स्रोतको भनाई छ । नाम नराख्ने सर्तमा एक पदाधिकारीले अहिले आठ क्लवमा धेरै क्लवहरु एनएसएल हुनुहुन्न भन्ने लाइनबाट पछाडी हट्न थालेको र मनाङ मस्र्याङ्दी क्लवपनि यसको पक्षमा रहेको बताए ।
नेपालमा पहिलो पटक निजी लगानी भएर संञ्चालन भएको ए डिभिजन लिगको पहिलो संस्करणमा अहिले विरोध गर्ने क्लवले नै राम्रो यसको पक्षमा नै कुरा गरेका थिए । तर दोस्रो संस्करणमा एनएसएलले गर्दा खेलाडी अर्को सिजनमा महंगो रकम माग्न सक्ने भन्दै अहिलेबाट नै त्यसको बिपक्षमा लागेको ती पदाधिकारीले बताए ।
समयक्रमसँगै ए डिभिजनका आठ क्लवको त्यो एकजुटता विस्तारै फुक्किने बाटोमा अगाडी बढेको देखिएको छ । चार क्लव त्यो अडानबाट बाहिरीएपछि बाँकी चार क्लवमापनि केहि क्लवको धारणा परिवर्तन हुन थालेको बताइएको छ । यो पटकको नेपाल सुपर लिगमा कुल १० टिमको सहभागिता रहेको छ । जसमा यो सिजनमा तीन नयाँ क्लव सहभागि हुँदैछन । झापा एफसी, स्पोर्टिङ इलाम र बिरगञ्ज युनाइटेडले पहिलो पटक यो प्रतियोगितामा सहभागिता जनाउँदैछन ।
प्रतियोगिताका लागि खेलाडीको अक्सन सफल रुपमा सम्पन्न भइसकेको छ भने जसमा १० क्लवले अक्सनबाट हरेक टिममा १५ खेलाडी अनुबन्ध गरिसकेका छन भने मार्की खेलाडी र प्रशिक्षकपनि फाइनल भइसकेका छन ।
चैत्र २६ गतेबाट हुने प्रतियोगिता यो पटक कस्तो तरिकाले हुने हो त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया