शनिबार, जेठ ५, २०८१

बंगलादेश बैंकलाई एक्विजिसन गर्न नबिलले पायो सैद्धान्तिक सहमति

नेपालखोज २०७८ फागुन ३० गते १२:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

एनबी बैंकको एक्विजिसनपश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकमा अग्रणी बैंकका रूपमा स्थापित हुने देखिन्छ । हाल नबिलको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब नौ करोड छ । यस एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियोअनुरूप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।

पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्बभन्दा बढी प्राथमिक पुँजी रहेकामा एक्विजिसनपश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्बभन्दा बढी हुन आउनेछ । यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरूमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकामा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।

यसैगरी ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा दुई अर्ब १८ करोडभन्दा बढी तथा एनबी बैंकको ८१ करोडभन्दा बढी रहेकामा एक्विजिसनपश्चात् बैंकको खुद मुनाफा दुई अर्ब ९९ करोडभन्दा बढी कायम हुनेछ ।

एक्विजिसनपश्चात् नबिल बैंकको कुल कर्जा करिब तीन खर्ब एक अर्ब र कुल निक्षेप करिब तीन खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सन्जाल ४१ र एटीएम संख्या दुई सय ९२ पुग्नेछ ।

प्रतिक्रिया