शुक्रबार, जेठ ३, २०८२

नेपाली पत्रकारिताबारे समालोचनात्मक पुस्तक प्रकाशित

नेपालखोज २०७८ फागुन ३० गते १९:१०


काठमाडौं । नेपाली पत्रकारितासम्बन्धि अनुसन्धानमा आधारित पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ प्रकाशित भएको छ । नेपाल भित्र र बाहिर रहेका २१ जना पत्रकारिता/सञ्चार अध्येताहरुको लेखनलाई समेटेर तयार पारिएको पुस्तक बेलायतको ख्याती प्राप्त प्रकाशन गृह राउटलेजले प्रकाशित गरेको हो । नेपालको पत्रकारिता क्षेत्रबारे जान्न खोज्ने विश्वका अध्येताहरुलाई पनि सो पुस्तक उपयोगी हुने सहप्राध्यापक डा. कुन्दन अर्यालले बताए ।

उनले नेपालीपन सहितको नेपाली मिडिया र सोसाईटीलाई विश्लेषण गरेर विश्व दृष्टिकोणसहित पुस्तक तयार पारिएको उनले बताए । सहप्राध्यापक डा. अर्यालले भने, ‘ खासगरी मिडिया रिसर्च परम्परालाई अगाडि बढाउने एउटा महत्वपूर्ण घटना पनि हो यो । यसले हामी सबैलाई उत्साहित पनि बनाएको छ । नेपाली मिडियाको रिसर्च विस्तारै अगाडि आउँदै थियो नेपाली पन सहितको नेपाली मिडिया र सोसाईटीलाई एनालाईज गरेर अन्तराष्ट्रिय लेन्सबाट यो पुस्तकलाई हेरिएको छ ।’

नेपालको मिडिया इन्डष्ट्रिबारे जान्न चाहनेलाई पनि पुस्तक उपयोगी हुने आमसञ्चार अध्येता लक्ष्मण हुँमागाईले बताए । नेपाल विज्ञापन बोर्डका अध्यक्ष समेत रहेका उनले पुस्तकमा नेपाली मिडियालाई व्यवसायिक रुपमा अघि बढाउन र त्यसमा गरिएको लगानीलाई खेर जान नदिन एउटै छुट्टै नियमनकारी निकायको जरुरी भएको कुरालाई पनि औंल्याइएको बताए । उनले भने , ‘एउटा इन्डिपेन्डेन्ट नियमक निकाय बनाउन र त्यसबाट मिडियाको रेगुलेट गर्‍यौं भने अहिलेको समस्याको समाधान पनि गर्न सकिन्छ । तर त्यो भन्दा पनि बढि चर्चा नेपाली मिडियालाई हेर्ने अन्तराष्ट्रिय बारेमा अध्ययन गर्न जुन ग्याप थियो, त्यसलाई भने यसले फुलफिल गर्छ भन्ने मलाई लागेको छ ।’

पुस्तक भित्र चार खण्डमा १८ परिच्छेदहरु समेटिएका छन् । व्यवसायिक दृष्टिकोण शीर्षकको पहिलो खण्डमा एक्काईसौं शताब्दीमा नेपाली पत्रकारिता र दृष्टिकोण डा. भानुभक्त आचार्य र डा. श्याम शर्मा, मिडियाको जवाफदेही संयन्त्रका रुपमा प्रेस काउन्सिल नेपाल डा. भानुभक्त आचार्य, श्रीमन शर्मा र डा. समीक्षा कोइराला, प्रशारण माध्याममा नीतिगत सुधार लक्ष्मण हुँमागाई र डा. तुलसी आचार्य, विदेशबाट सञ्चालित नेपाली अनलाईन मिडियाको दीगोपना र व्यवसायिक विकास भगीरथ योगी र डा. जगन कार्की र नेपाली समाचार कक्षमा डिजिटल रुपान्तरण प्राध्यापक रामकृष्ण रेग्मी समावेश गरिएको छ ।

त्यसैगरी प्राज्ञिक दृष्टिकोण, सामाजिक–राजनीतिक दृष्टिकोण, प्राविधिक दृष्टिकोण पनि पुस्तकमा समावेश गरिएको छ ।
अढाई वर्ष लामो गहन र सामूहिक मेहनतपछि प्रकाशित पुस्तक मिडिया अध्येताद्धय डा. भानुभक्त आचार्य र डा. श्याम शर्माले सम्पादन गरेका छन् । ३४२ पृष्ठ रहेको पुस्तक नेपालको पत्रकारिताको बस्तु स्थितिलाई विश्वमा परिचित गराउन महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया