शनिबार, असार १४, २०८२

आफन्त बाहेकले पनि मृगौला दान गर्न पाउने कानून बन्दै

नेपालखोज २०७८ चैत १ गते ११:४९

काठमाडौं । मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ । नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज हुनेछ ।

नेपालमा बढ्दो मृगौला रोगीको उपचार स्वदेशमै सम्भव भएपनि दाता नहुँदा धेरैले प्रत्यारोपको अभावमा ज्यान गुमाउने गरेका छन् । आफन्त बाहेकले मृगौला दान गर्न नपाउने कानून संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने र मृगौला रोगीका लागि वरदान साबित हुनेछ । विश्व मृगौला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले कानून संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए ।

आफन्त बाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार अझै सहज हुन उनको भनाई छ । मृगौला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्रा। डा. बालमानसिंह कार्की बताए । मृगौला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात अंगदानप्रति जनचेतना जगाउनु आवश्यक रहेको डा. दिव्या सिंह शाहले बताए ।

मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा. रोशन पोखरेलको भनाई छ । कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उपचारपद्धतिमा विज्ञानप्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए । उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनाबग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतिपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनामा मृगौला प्रत्यारोपण भइसकेको र ७ हजार जना डाईलासिस गराएर प्रत्यारोपणको पर्खाइमा छन ।

प्रतिक्रिया