एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ : केपी ओली

नेपालखोज २०७८ चैत १ गते १४:१६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता माओवादी युद्धको एजेण्डा नभएको भन्दै एमालेको नेतृत्वमा २०६३ सालमा पुनर्स्थापित संसदले पारित गरेको बताएका छन् ।

ओलीले अनेमसंघकी तत्कालीन अध्यक्ष विद्या भण्डारीको प्रस्तावमा कांग्रेस लगायतका दलका प्रतिनिधिहरुले समर्थन गरेर २०६३ जेठ १६ गते संसदबाट पारित भएको स्मरण गरे । ओलीले भने, ‘म कतै कतै सुन्ने गर्छु हाम्रो जनयुद्धले गर्दा महिलाको ३३ प्रतिशत पुर्यायौं भन्छन् । तर त्यसको कुनै भूमिका छैन । ३३ प्रतिशतको अवधारण अखिल नेपाल महिला संघले ल्याएको हो । त्यो भनेको एमालेबाट आएको हो । अहिलेको राष्ट्रपतिज्यूको अगुवाईमा २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाले त्यो निर्णय गरेको हो ।’

उनले एमालेले एक्लैले चुनाव लड्ने समेत बताए । उनले भने, ‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ । हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन । जसको काम नै फाटोवादी उ एकीकृत, जुन प्रतिगामी छ उ समाजवादी ।’

अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई तथाकथित बुद्धिजीवीको संज्ञा दिए । उनले भुसालको नामै नलिई तथाकथित बुद्धिजीवीहरुले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाए । उनले भने, ‘मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ रे ? माधव नेपालको गुटसँग मिलेन भने एमाले समाप्त हुन्छ रे यो माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।’

उनले ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको दावी गरे । उनले भने, ‘कम्युनिस्ट सरकार ढाल्ने, फुटाउने प्रतिकृयावादीका पछि लाग्ने तलुवा चाट्ने र प्रसाद खानेलाई कम्युनिस्ट के को हुने ? ’

प्रतिक्रिया