कोरोनाको बढ्दो ग्राफप्रति डब्ल्यूएचओ चिन्तित !

काठमाडौं । संसारमा एकपटक फेरि कोरोनाका संक्रमित बढ्दै गएकामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिन्ता व्यक्त गरेको छ । चीनमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । चीनमा चौबीस घण्टाभित्र पाँच लाखभन्दा बढी नयाँ संक्रमित फेला परेपछि फेरि एकपटक आतंकको स्थिति सिर्जना भएको छ । यसैगरी नेपालसँग सोझो सम्पर्क भएको हङकङमा पनि कोरोनाको ग्राफ फेरि उकालो लागेको छ । चीन र हङकङ मात्र होइन युरोपका कैंयन् देशमा फेरि कोरोनाको महामारी बढेको रिपोर्टहरु सार्वजनिक भइरहेका छन् ।
यसबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संसारभर डेल्टाक्रोन (Deltacron) को संक्रमण बढेको जानकारी दिएको छ । संगठनले डेल्टाक्रोनले संसारमा फेरि एकपटक कोरोनाको नयाँ लहर ल्याउन सक्ने भन्दै चिन्तासमेत जाहेर गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार फ्रान्स, यूके, नेदरल्यान्ड, डेनमार्कसमेत युरोपका कैंयन् देशमा डेल्टाक्रोनबाट संक्रमित बिरामी फेलापरेका छन् । अमेरिकाको केही भागमा पनि डेल्टाक्रोन भेरिएन्टका संक्रमित देखापरेका छन् यद्यपि त्यस्ता बिरामी निकै कम छन् तर यसैबाट कोरोनाको नयाँ लहर फैलने सम्भावनालाई भने नजरअन्दाज गर्न सकिँदैन ।
के हो डेल्टाक्रोन ?
डेल्टाक्रोन कोरोनाको डेल्टा (Delta) र ओमिक्रोन (Omicron) भेरिएन्ट मिलेर बनेको कोरोनाकै एउटा नयाँ रुप हो । वैज्ञानिकहरुका अनुसार यो भेरिएन्टको ब्याकबोन डेल्टाबाट तयार भएको हो भने यसको स्पाइक ओमिक्रोनबाट बनेको हो । यी दुई भेरिएन्ट मिलेर बनेका कारण नै यसलाई डेल्टाक्रोन नाम दिइएको हो ।
वैज्ञानिकहरुका अनुसार दुई भाइरस म्युटेट भएपछि यस किसिमको कम्बिनेसन देखापर्छ । यस्तो स्थितिमा कुनै पनि व्यक्ति एकै समयमा डेल्टा र ओमिक्रोन दुई अलग-अलग भेरिएन्टबाट संक्रमित हुन्छ र उसमा दुवै भेरिएन्टका लक्षण देखिन्छन् ।
के यो बढी खतरनाक छ ?
यस विषयमा अहिले धेरै कुरा स्पष्ट भइसकेको छैन । जानकारहरुका अनुसार डेल्टा भेरिएन्ट निकै घातक थियो भने ओमिक्रोन निकै संक्रामक । यस्तो अवस्थामा डेल्टा र ओमिक्रोन एक साथ मिलेर बनेको भेरिएन्ट बढी खतरनाक पनि हुन सक्छ र यसबाट मानिसको ठूलो संख्या संक्रमित हुन सक्छ भने बिरामीको गम्भीरता पनि बढि हुन सक्छ । यद्यपि त्यसको ठोस संकेत भने मिलिसकेको छैन ।
चिकित्सकहरुका अनुसार यसरी दुई भेरिएन्टको कम्बिनेसन कुनै नयाँ कुरा भने होइन । डब्ल्यूएचओका चिफ साइन्टिस्ट सौम्या स्वामीनाथ भन्छन्- हामीलाई थाहा छ कोभिडका अलग-अलग भेरिएन्ट देखापरेका छन्, यस्तोमा मानिस वा जनावरमा भेरिएन्टको कम्बिनेसन हुनसक्छ तर यस विषयमा बढी जानकारीका लागि हामीले केही समय पर्खनै पर्छ ।
कहिले देखियो डेल्टाक्रोन ?
२०२२ को जनवरीमा साइप्रसका वैज्ञानिकहरुले डेल्टाक्रोन भेरिएन्टसम्बन्धी पहिलो जानकारी दिएका थिए । साइप्रसका वैज्ञानिक डा . लियोनडिओस कोस्त्रिकिसले कोरोनाका केही बिरामीमा डेल्टा र ओमिक्रोन दुवै भेरिएन्ट पुष्टि भएको बताएका थिए । डब्ल्यूएचओले पनि यो डेल्टाक्रोन भेरिएन्टको अस्तित्व पुष्टि गरिसकेको छ ।
प्रतिक्रिया