‘भूमिहीन दलित सुकुम्बासीलाई लालपूर्जा’

काठमाडौं । गुल्मीमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने कार्यको सम्झौता गरिएको छ । सम्बन्धित स्थानीय तह र भूमि आयोगबीच मंगलबार सम्झौता गरिएको हो । जिल्लाको मालिका, इस्मा, छत्रकोट, रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिका एवं रेसुंगा नगरपालिकाबीच सम्झौता भएको हो ।
धुर्कोट, मदाने, गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाले यसभन्दा अगाडि नै सम्झौता गरिसकेका छन् । मुसिकोट नगरपालिकाले आज सम्झौता गर्दैछ । सम्झौतासँगै जिल्लामा भूमिहीन दलित सुकुम्बासीलाई लालपूर्जा दिने तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने कार्य अगाडि बढेको भूमि आयोगका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए ।
प्रचलित वन ऐन २०७६ ले वनको आसपास, वन क्षेत्रको जग्गा बिक्रीवितरण तथा हस्तान्तरण गर्न मिल्दैन । राष्ट्रिय भूमि आयोगका सदस्य दाताराम खनालले भूमिसम्बन्धी देखिएका समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधान गर्नका लागि विभिन्न ऐन संशोधन गर्नुपर्ने र त्यसका लागि आयोग गम्भीर रहेको बताए । गुल्मीमा सहरी क्षेत्रमा चार आना र ग्रामीण क्षेत्रमा १०/६५ रोपनी जग्गा पाइने छ भने ६ रोपनी जग्गा खेतीपाती गर्न उपलब्ध हुनेछ ।
त्यस्तै अव्यवस्थित बसोबास व्यवस्थापनका लागि दुई रोपनी जग्गा अथवा १९ रोपनी जग्गा कृषिका लागि पाउने भूमि आयोगले जनाएको छ । गुल्मीमा ४३५ भूमिहीन दलित, ३९० सुकुम्बासी र एक हजार ४४४ अव्यवस्थित बसोबास रहेको आयोगको तथ्यांक रहेको छ ।
प्रतिक्रिया