आइतबार, वैशाख २३, २०८१

दाङमा प्रभावकारी बन्न सकेन स्वास्थ्य बिमा कार्यक्रम

नेपालखोज २०७८ चैत २ गते १३:०७

काठमाडौं । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम दाङमा प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । सेवा दिने प्रक्रिया झन्झटिलो हुँदा सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।

सरकारले स्वास्थ्य बिमा गरेका नागरिकलाई सुविधा लिनका लागि सरकारी अस्पताल तोकेको हुन्छ । तर सेवाग्राहीले स्वास्थ्य सेवा लिन सरकारी अस्पतालमा नगई अन्य निजी अस्पतालमा जाँदा यो कार्यक्रम प्रभावकारी हुन नसकेको बताइएको छ ।सेवाग्राहीले बिमा गर्दा नै सरकारी अस्पताललाई विशेष प्राथमिकतामा राखिएको हुन्छ । उनीहरू पहिलो पटक उपचार गर्न निजी अस्पतालमा गए भने उपचारमा सहुलियत पाउन सक्दैनन् । निजी अस्पतालले सरकारी अस्पतालमा जानू भनेर सिफारिस गरिदिन्छ । सेवाग्राहीले दौडधुपमै समय खर्चिनुपर्छ । जसले गर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । आम नागरिकको बुझाइमा समस्या भएकाले झन्झट बेहोरिरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । आम नागरिकको बुझाइमा फरक परेकाले झन्झट भएको हो, बिमा कार्यक्रमका जिल्ला संयोजक गोपीलाल वलीले भने , ‘जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम पुगेको भए पनि झन्झटिलो प्रक्रियाका कारण सेवाग्राही मारमा परेका हुन् ।’

गत वर्ष माघ ३० गतेदेखि दाङमा स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रम सुरु भएको १३ महिना पुग्दासम्म करिब २० हजार जनाले मात्रै बीमा गराएको उनले बताए । दाङका सय वडामध्ये ९५ वडामा बिमा दर्ता सहयोगी कार्यकर्ताले काम गरिरहेका छन् । बाँकी पाँचवटा वडामा विभिन्न कारणले बीमा दर्ता सहयोगी कार्यकर्ता खाली छन् । स्वास्थ्य बिमाका लागि पाँचजनाको परिवारसम्मले तीन हजार ५०० प्रिमियम रुपैयाँ तिर्दा सरकारले एक लाख रुपैयाँको बीमा गरिदिने कार्यक्रम रहेकने छ । यस्तै ६ जनादेखि माथिको परिवार सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ जम्मा गर्दै जाने र दुई लाख रुपैयाँको बीमा सरकारले गर्ने संयोजक वलीले जानकारी दिएका छन् । पैसाको अभावमा अझै पनि धेरै मानिस रोग लुकाउन बाध्य र पैसाको अभावमा नागरिकले अकालमै ज्यान गुमाउन नपरोस् भनेर कार्यक्रम ल्याइएको भए पनि नागरिकले यसको महत्व नबुझ्दा कार्यक्रम प्रभावकारी हुन नसकेको उनले बताए ।

सरकारले अति गरिब, पूर्ण अपांगता , क्षयरोग तथा कुष्ठरोग, एचआइभी संक्र्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँ सम्मको निःशुल्क बीमा गर्ने कार्यक्रम ल्याएको छ । त्यस्तै महिला स्वास्थ्य स्वय्सेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको र सरकारी स्वास्थ्य संस्थामा हुने लापरबाहीका कारण स्वास्थ्य बीमा गराउनेको संख्या बढ्न नसकेको दाङका स्वास्थ्य बीमा गराउनेहरुको भनाइ रहेको छ । स्वास्थ्य बिमा गराएका सरकारी अस्पतालबाट वर्षमा एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्थाअनुसार नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।

जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, रक्षा चौर आँखा अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा र बंगालाचुली अस्पतालमा बीमा गरेबापतको उपचार सेवा केन्द्र तोकिएको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामी भएका व्यक्तिलाई एक हजार ३३ प्रकारका औषधि, सबै प्रयोगशाला र भेन्टिलेटरसम्मको उपचार निःशुल्क हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

प्रतिक्रिया