कृषि पेशाबाट पलायन बाँकेका किसान पुनः कृषि पेशामा फर्किदै

बाँके । कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ कार्यक्रम लागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् ।
बाँकेको राप्ती सोनारी गाँउपालिका–७, फत्तेपुरका किसानहरु पुरानो प्रविधिबाट खेतीगर्दा उत्पादनमा कमि भएपछि मजदुरी पेशामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँकेमार्फत् उक्त वडामा स्र्माट कृषि गाँउ कार्यक्रम लागू भएपछि किसान पुनः कृषि पेशामा फर्केका हुन् ।
सो गाउँपालिका कृषि पेशामा होमिएको गाँउपालिका हो । तर पुरानै विधि र प्रविधि अपनाएर कृषि गर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मिहिनेट बढी लाग्ने तर उत्पादन कम हुँदा किसानहरु कृषि पेशाबाट पलायन भई दैनिक ज्यालादारी मजदुरी काममा लागेका थिए ।
नेपाल सरकारले २०७५ सालदेखि बाँके जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत् स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन गरेपछि किसानहरु उत्पादन देखेर पुनः कृषि पेशामा फर्केका छन् । कृषि उत्पादनका लागि कृषि ज्ञान केन्द्रले हरेक सिजनमा र हरेक वर्षमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिने र प्याकेट क्षेत्रका लागि मल बिउहरु पूर्णरुपले ज्ञान केन्द्रले दिएपछि थप हौसला आएको राप्ती सोनारी गाँउपालिका–७, फत्तेपुरका किसान चक्रबहादुर थारुले बताए ।
वर्षामा धान, हिउँदेमा आलु मात्रै उत्पादन गरिरहेका किसानहरु २०७५ सालदेखि सबै महिना खेती गरिरहेका छन् । स्मार्ट कृषि गाउ कार्यक्रम लागु भएपछि अहिले १ सय ७ घर धुरीले सिजनअनुसार खेती गरिरहेका छन् । वर्षातमा धान, हिउँदेमा आलु र तोरी र बसन्तमा मकै खेतीगरि रहेका छन् । तर नेपाल सरकारबाट स्वीकृत भएका मकै भारतीय मकै जस्तो उत्पादन नभएपछि उनीहरु भारतीय मकैको बिउमा निर्भर परेको फत्तेपुर स्मार्ट कृषि गाँउका किसान तथा सचिब खोज लालथारुले बताए ।
तराईको भेग र बाँकेको माटो उर्वर भएले मकै उत्पादन निकै राम्रो भैरहेको छ । स्मार्ट कृषि गाँउ कार्यक्रम लागू भएदेखि नै फत्तेपुरका किसानहरु पुर्णरुपमा कृषिमा आबद्ध भएको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए । यस क्षेत्रमा उत्पादन हुने चाँद, ताला ११ जिरो सात, जेपी पाँच सय दुई जातका मकै अहिले बसन्ते सिजनमा ९ बिगाहा जमिनमा मकै खेती गरेको अधिकृत भट्टराईले बताए ।
राप्ती सोनारी गाँउपालिकाले स्मार्ट कृषि गाँउका किसानहरुलाई आर्थिक सहयोग नगरे पनि प्राविधिकरुपमा किसानहरुले खबर गर्न साथ सहयोग गर्दै आएको गाँउपालिकाकी कृषि प्राविधिक सुमित्रकुमारी थारुले बताइन् । नेपाल सरकारले मान्यता दिएको मकै धेरै समय लाग्ने, घोघा लामो भएपनि कम दाना लाग्ने, धेरै अग्लो हुने र उत्पादनमा कमी आएले किसानहरुले भारतीय मकैको बिउ लगाउने गरेको उनले बताइन् ।
यसरी स्मार्ट कृषि गाँउ स्थापना भएर किसानहरुले लागेको देख्दा हरेक गाँउपालिकाको वडा स्तरमै स्मार्ट कृषि गाँउ सञ्चालन गर्न जरुरी देखिन्छ । वडा स्तरमै स्मार्ट कृषि गाँउ कार्यक्रम लागु भएपछि विदेश पलायन हुन लागेका युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिई आत्मनिर्भर बनाउन र कृषि उत्पादनमा बृद्धि हुने देखिन्छ ।

प्रतिक्रिया