बुधबार, जेठ १६, २०८१

एसियाकै पहिलो ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने

नेपालखोज २०७८ चैत २ गते २३:५५

काठमाडौं । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो ।

यो मेलालाई आरएण्डडी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमा थ्री एस फाउन्डेशन रहेको छ ।

५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८
सोही मितिमा र सोही स्थानमा सलोम ५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ पनि आयोजना गरिने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमै कृषि कर्जा मेलाको पनि आयोजना गरिएको र यो मेलाले थप आकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले बताए । कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको पनि आयोजना गरिएको उनले बताए ।

कृषिकर्जा मेलाको उद्देश्य
कृषि कर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्यांक छ । धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् । यो अवस्थामा आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुशमा शर्माले बताइन् ।

मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषिकर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाई छ । त्यसैगरी बैंकहरुलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नीति निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषि कर्जाको राष्ट्रिय संवाद एवम् कार्यशाला सञ्चालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने र कृषक, बैंक, सेवा प्रदायक र नीति निर्माताबिच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाई छ ।

प्रतिक्रिया