इन्धनको भाउ हालसम्मकै उच्च, एक लिटर पेट्रोल अब १५५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/ मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले वृद्धि भएको जानकारी गराएको छ ।
वृद्धि भएको मूल्य अनुसार अब पेट्रोल र डिजेल/ मट्टितेलको मूल्य प्रति लिटर पेट्रोल १५५, डिजेलर मट्टितेल १३८ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १५ रुपैयाँले वृद्धि गरि प्रति लिटर १५१ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर अमेरिकी डलर २ सयले वृद्धि गरि प्रति किलो लिटर अमेरिकी डलर १.४९५ कायम गरिएको छ ।
निगमले एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखेको जानकारी गराएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा हुँदा पनि बिक्री मूल्य नबढाई हाललाई पुनः यथावत राखेको निगमका सह-प्रवक्ता पुष्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इन्धनमा मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा अनुमानित ४ अर्ब ६६ करोड घाटा हुने दाबी गरेको छ । साथै निगमले आगामी भुक्तानीका लागि नपुग रकम मूल्य स्थिरीकरण कोषबाट तथा अन्य वित्तीय संस्थाहरुबाट ऋण लिइ पुर्याउनु पर्ने बाध्यात्मक स्थिति रहेको जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा निगमलाई करिब २८ अर्ब नोक्सानी भइसकेको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया