बिहीबार, जेठ २, २०८२

के हो केमिकल अनि बायोल‍ोजिकल हतियार ?

नेपालखोज २०७८ चैत ३ गते ८:५१

काठमाडौं । भनिन्छ रूस तथा युक्रेन बिचको युद्धमा अब केमिकल तथा बायोलोजिकल हतियार प्रयोग हुने खतरा बढेर गएको छ । केही दिनअघि अमेरिकी खुफिया एजेन्सी सीआईएका डाइरेक्टर विलियम बर्न्सले भनेका थिए युक्रेनमा लम्बिँदै गएको युद्धका कारण रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको रिस, कुन्ठा तथा निराशा बढिरहेको छ र अब उनी यो लडाइँ जित्न कुनै पनि हदसम्म जान सक्छन् । यता अमेरिका तथा ब्रिटेनसहितका पश्चिमी देशले के आशंका जनाउँदै आएका छन् भने रुसले युक्रेनमाथि केमिकल वा बायोलोजिकल हतियार प्रयोग गर्न सक्छ ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस ज‍ोनसनले आफ्नो एक अन्तर्वार्तामा रूसले युक्रेनमा केमिकल हतियार प्रयोग गर्न सक्छ भन्दै चिन्ता व्यक्त गरेका थिए । ह्‌वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले पनि भनेकि थिइन्- रुसले युक्रेनमा केमिकल वा बायोलोजिकल हतियारले हमला गर्न सक्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत चेतावनी दिइसकेका छन्- यदि रूसले केमिकल हमला गर्यो भने उसले त्यसको गम्भीर नतिजा भोग्नुपर्नेछ । पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले भनेका छन्- रूसले युक्रेनमा रसायनिक हमला गर्न सक्छ जुन नाटो सैन्य संगठनका लागि गेम चेन्जर साबित हुनेछ ।

यता अमेरिकासमेत पश्चिमी देशको केमिकल वा बायोलोजिकल हतियार प्रयोग गर्नसक्ने आरोपलाई रूसले अस्वीकार गरेको छ । रुसले यसलाई आधारहीनसमेत बताएको छ ।

के हो केमिकल अनि बायोलोजिकल हतियार ?
केमिकल हतियार :
यसमा केमिकल वा रसायन प्रयोग गरिन्छ । यस्ता हतियार बढी भन्दा बढी मानिसलाई नोक्सान पुर्याउन वा मार्न प्रहार गरिन्छ । यसमा जुन केमिकल प्रयोग गरिन्छ त्यसले मानव शरीरलाइ गम्भीर क्षति पुर्याउँछ । जस्तो शरीर नराम्रोसँग पोलिन्छ वा प्यारालाइज हुन्छ वा काम नलाग्ने हुन्छ र यसबाट मानिसको मृत्युसमेत हुनसक्छ ।

बायोलोजिकल हतियार : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार , बायोलोजिकल हतियारमा कुनै ब्याक्टेरिया, भाइरस वा फंगस प्रयोग गरिन्छ । यस्ता हतियार प्रयोग गर्नुको उद्देश्य मानिसहरुलाइ बिरामी बनाउनु हो । कतिपय अवस्थामा यसबाट पनि मानिसको मृत्यु हुन्छ । बायोलोजिकल हतियारक‍ो प्रयोगबाट महामारी फैलिने खतरा हुन्छ । यसबाट मानिस मात्र होइनन् जनावर तथा रुख-बिरुवामा समेत नोक्सान पुग्छ ।

के भन्छ अन्तर्राष्ट्रिय कानुन ?
केमिकल हतियार : १९९७ मा केमिकल हतियारको प्रयोगलाई लिएर अन्तर्राष्ट्रिय कानुन बनेको थियो । जसमा के तय गरिएको थियो भने आवासीय इलाकामा वा आम नागरिकलाइ नोक्सान पुर्याउने गरी यस्ता हतियार प्रयोग गरिने छैन । यद्यपि, युद्धमा यसको प्रयोग गर्न यो कानुनले रोक्दैन । यो कानुनमा रूसले समेत हस्ताक्षर गरेको छ ।

बायोल‍जिकल हतियार : यसको प्रयोगलाई लिएर १९७२ मै अन्तर्राष्ट्रिय कानुन निर्माण गरिएको थियो । यसमा कुनै पनि देशले बायोलोजिकल वा टक्सिन हतियारहरु निर्माण नगर्ने न त यसको प्रयोग गर्ने कुरा उल्लेख छ । यो सन्धिमा रूससमेत १८४ देशले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया