राष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास

नेपालखोज २०७८ चैत ३ गते ७:१५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन् ।

फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरिन् ।

राष्ट्रपतिले यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको तथा त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको विजय नै हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखररूपमा अभिव्यक्त गर्दछ, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि राष्ट्रपतिले जारी गरेको सन्देशमा भनिएको छ ।

प्रतिक्रिया