सोमबार, असार ९, २०८२

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग कार्यान्वयन गर्न महासंघले पहल थाल्ने

नेपालखोज २०७८ चैत ३ गते १२:१८

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्योलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।

महासंघको हालै वीरगन्जमा सम्पन्न २५औं राष्ट्रिय महाधिवेशन तथा २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिले राजधानीमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष उमेशप्रसाद सिंहले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको भन्दै उक्त निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल सुरु गर्ने बताए ।

स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धन तथा यस्ता उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान नसकेको भन्दै उनले निर्देशिकाको अक्षरशः पालना गराउन सरकार र सरोकारवाला निकायसँग छलफल सुरु गर्ने बताए । स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि, रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष सिंहको भनाइ थियो ।

मुलुकभर सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरूको स्तरोन्नती, पुनर्उत्यान र विस्तारका कार्यक्रमहरू सञ्चालन गर्न पहल गर्ने र उद्यमीको क्षमता अभिबृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम सञ्चालनमा सहयोग र समन्वय गर्ने योजना रहेको पनि अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा सुनाए ।

स्थानीय निकायहरू मार्फत महासंघका पालिका, जिल्ला तथा प्रदेश संघहरूमा कार्यक्रमहरू ल्याउने प्रयास गर्ने र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको स्थानीय राजश्व परामर्श समितिमा महासंघको हरेक स्थानीय तहको प्रतिनिधित्वको सुनिश्चितता गर्ने उनको भनाई थियो ।

सरकारसँगको सहकार्यलाई थप मजबुत बनाउँदै लघु घरेलु तथा साना उद्योगको प्रवर्द्घन र विकासमा सहयोग र सहकार्य गर्न चाहने सम्भावित दातृ निकायहरूको पहिचान गरि कार्यक्रम सञ्चालन गर्न पहल गर्ने नयाँ कार्यसमितिको योजना रहेको उनले बताए । नेपालका लघु, घरेलु तथा साना उद्योगहरूको विद्युतीय तथ्याङ्क अद्यावधिक गर्नुका साथै विद्यमान नीति, ऐन तथा कार्यविधिहरूलाई लघु, घरेलु तथा साना उद्योगमैत्री बनाउन पहल र प्रयत्न गर्ने महासंघको योजना रहेको छ ।

कोरोनाका कारणले स्थगित भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गरी स्वदेशी उत्पादनको बजार प्रवर्द्धन र विकास गर्न सहयोग गर्ने महासंघको आगामी योजना रहेको अध्यक्ष सिंहले बताए । लघु, घरेलु तथा साना उद्यमीहरूलाई आवश्यकता अनुसार पर्याप्त मात्रामा उद्योग प्रवद्र्घन र विकासका कार्यक्रमहरू उपलव्ध गराउन नसकेको अवस्थालाई मध्येनजर गर्दै आर्थिक व्यवस्थापनलाई मजबुत बनाउदै लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्घनका लागि पर्याप्त कार्यक्रमहरू उपलब्ध गराउन पहल गर्ने महासंघको योजना रहेको छ । सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन सहजीकरण गर्ने पनि महासंघको योजना छ ।

औद्योगिकरण मार्फत मुलुकलाई आर्थिक रूपमा समृद्ध र आत्मनिर्भर बनाउन उद्यमी व्यवसायीहरू क्रियाशिल रहेको भन्दै उनले भने, ‘नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्यमीहरू नै मुलुकको आर्थिक समृद्धिका लागि परिवर्तनका सम्वाहक हुन भन्नेमा कसैको दुईमत छैन । उद्यमीहरू प्रगतिशील अर्थतन्त्रका परिवर्तनकारी संवाहक हुन् । उत्पादन र सेवाको सम्भाव्य माग पत्ता लगाई बजारयोग्य वस्तु वा सेवाको आपूर्ति सुनिश्चित गर्नु उद्यमी व्यवसायीको दायित्व हो ।’

नेपालजस्तो कम विकसित मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योग व्यवसायले अहम् भूमिका निर्वाह गर्दै आएको भन्दै अध्यक्ष सिंहले भने, ‘वास्तवमै नेपालको औद्योगिक इतिहासलाई सिंहावलोकन गर्ने हो भने नेपालमा सञ्चालित सम्पूर्ण उद्योगहरूको ९५ प्रतिशत लघु, घरेलु तथा साना उद्योगले ओगटेको छ । लघु, घरेलु तथा साना उद्योगको क्षेत्रले मुलुकको निर्यातको ६० प्रतिशत भन्दा बढी योगदान पु¥याइरहेको छ । यति हुदाहँुदै पनि यो क्षेत्र अझैपनि उपेक्षित रहि आएको छ । वर्तमान संघीय संरचनामा मुलुक प्रवेश गरेपछि यो क्षेत्र र सरकारका तीन तहका बीच दूरी घट्नुको साटो अझ बढिरहेको छ ।’

उद्योग विभागको पछिल्लो आँकडाअनुसार आर्थिक वर्ष ०७७–७८ सम्ममा मुलुकभर कुल छ लाख दुई हजार ९२१ लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन । यसमध्ये चार लाख ५७ हजार ६४३ उद्योगहरू दर्ता कायम भई सञ्चालनमा रहेका छन् । ती उद्योगहरूमा प्रस्तावित कुल पुँजी लगानी ८० हजार १८९ दशमलव तीन करोड रुपियाँ रहेको छ भने प्रस्तावित रोजगारी ३२ लाख ८९ हजार ५१६ जना रहेको तथ्याङ्कबाट देखिएको छ भने परम्परागत रुपमा यत्रतत्र छरिएर रहेका असंगठित उद्यम व्यवसायहरूको संख्या समेत ठूलो रहेको छ ।

पत्रकार सम्मेलनमा महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, पूर्व अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष हरिहर थापा, महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले महासंघका भावी योजनाबारेमा चर्चा गरेका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको लघु घरेलु तथा साना उद्योगीहरूको प्रमुख छाता संस्था हो । यस अन्तरगत अहिले ३२८ वटा पालिकाहरूमा पालिका संघ, ७७ वटै जिल्लामा जिल्ला संघ र सातवटै प्रदेशमा प्रदेश संघहरू कार्यरत छन् । यसका सँगसँगै केन्द्रमा केन्द्रीय महिला उद्यमी समिति, प्रदेशमा प्रदेश महिला उद्यमी समिति, ६० वटा जिल्लामा जिल्ला महिला उद्यमी समिति र झन्डै ३०० पालिकामा पालिका महिला उद्यमी समिति कार्यरत छन् ।

यस अन्तरगत झन्डै ४० हजार लघु घरेलु तथा साना उद्योगीहरू महासंघका सदस्य रहेका छन् भने करिब १२ हजार महिला उद्यमीहरू महिला उद्यमी सञ्जालमा जोडिएका छन । योबाहेक महासंघमा २७ वटा वस्तुगत संघहरू संस्थागत सदस्यका रूपमा छन् भने एसोसियट सदस्य, सहकारी सदस्य र ऊर्जा क्षेत्रका उद्योगीहरू समेत महासंघका सदस्य रहेका छन् । लघु, घरेलु तथा साना उद्योगीहरूको प्रतिनिधित्व गर्दै महासंघले सरकारद्वारा गठित २८ वटा बोर्ड–समितिहरूमा प्रतिनिधित्व गर्दै आएको छ ।

प्रतिक्रिया