सोमबार, वैशाख १७, २०८१

मधेस प्रदेशमा यसपालिको ‘होली’ तीन दिन

नेपालखोज २०७८ चैत ३ गते १२:२५

काठमाडौं । मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो । मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन होली मनाइरहेका छन् भने मधेश प्रदेशका मूल मधेशीले पूर्णिमाको भोलिपल्ट होली मनाउँछन् ।

मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने अर्को परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरेर शनिबार होली मनाउने तयारीमा छ ।

छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले र मधेशी समुदायले उदाउँदो पूर्णिमा अर्थात चैत कृष्ण प्रतिपदाका तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । यसअनुसार शनिबार पनि होली खेलिने भएको छ । मोफसलका पत्रकार वीरेन्द्र रमणले भने, ‘माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ ।’

परिक्रमासँग सम्बन्धित भएर जनकपुर क्षेत्रमा पर्वको निर्धारण गरिन्छ भने अन्य क्षेत्रका आम मधेशी पूर्णिमाको भोलिपल्टै होली मनाउँछन् । स्थानीय भंगाहा–४ का जवाहर महतोले भने, ‘आज पूर्णिमाका दिन पर्वते समुदायका मधेशी पर्व मनाउँदैछन् हामी मूल मधेशी भोलि शुक्रबार मनाउँछौँ ।’ तिथि घटबढ र परिक्रमा परम्पराले पर्व लगातार तीन दिन परे पनि यहाँ सांस्कृतिक घुलमिलले सबै होली मा मिसिन्छन् । मधेश आजदेखि नै होलीको रङमा रगिंदो छ । यो क्रम अब शनिबारसम्म रहनेछ ।

सबैको हातमा अबीरका झोली सबैको एउटै बोली, जय होली ‘बुरा नमानो होली है १’ जताततै होलीको रौनक एकाबिहानैदेखि देखिँदो छ । यसैबीच पर्वलाई सभ्य र शालीन ढङगाले मनाउन प्रशासनिक निकाय र सामाजिक संघ संस्थाले आग्रह गरेका छन् । होली सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबर्जस्ती रङ हाल्ने, लोला हान्ने र अरुलाई बाधा पर्ने गरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले को आग्रह गरेका हुन् ।

प्रतिक्रिया