अर्थमन्त्री शर्माले भने- काेरोनाले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ

नेपालखोज २०७८ चैत ४ गते १३:५०

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५ अैाँ स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे ।

बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए । उनले भने, ‘सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाको समेत प्रवद्र्धन गर्ने योजना छ ।’ उनले कार्यक्रममा उपस्थित व्यवसायी सँग सल्लाह तथा सुझाव समेत मागे । युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उनले उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ३५ वर्ष अघि यस क्षेत्रमा लागि पर्दा हालको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यस अघि कहिल्यै पनि नदेखेको गुनासो गरे । उनले भने, ‘अहिले मुलुकमा तरलताको समस्या गम्भीर रुपमा बढ्दै गइरहेको छ । समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्र होइन समस्त नेपाली कै जीवनमा प्रभाव पार्ने देखिन्छ, ध्यान दिन जरुरी छ ।’ अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उनको भनाइ थियो ।

सांसद नवराज सिलवालले अर्थतन्त्रको अवस्था बारे छलफल गर्नु आवश्यक भएको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटन स्थित देव भीमसेन मन्दिर पुन : निर्माणमा आफूहरुले सरकार सँग एक पैसा नलिइ सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सो स्थानमा रहेका विभिन्न मूर्त तथा अमूर्त सम्पदा प्रवद्र्धनका लागि पर्यटकको बसाईं लम्ब्याउन जरुरी भएको बताए ।

संघका पूर्व अध्यक्ष शैलेन्द्रलाल प्रधानले हरेक वर्ष मुलुकमा पाँच खर्ब रुपैयाँको अवैधानिक रुपमा कपडा व्यापार हुने गरेको उल्लेख गर्दै सो नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने अैाँल्याए । संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले ललितपुर भित्र उत्पादन भएका र हुने गरेका थुप्रै वस्तु निर्यातमा सरकारले जोड दिएर मुलुककै सिंगोे अर्थतन्त्रमा टेवा पुर्याउन सक्ने बताए । कार्यक्रममा २५ वर्ष निरन्तर संघको सदस्य भएका व्यक्तिलाई प्रशंसा पत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पुर्याउने व्यक्तिलाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया