सोमबार, वैशाख २४, २०८१

तस्बिर र भित्ता

प्रीति अर्याल २०७८ चैत ५ गते ७:३५

प्रेमको शासन खिल बन्दै
निरन्तर दुखिरहेपछि
सम्बन्धका वितृष्णाहरु
जीवनको कठघरामा उभिन पुगे
र मृत्युतुल्य सम्बन्ध
निर्जीव फ्रेमभित्र कैदी भए
निसन्देह चोट खपेर
झुन्डिन बाध्य भए यादहरु
मानवीयता भरिएका भित्ताहरुमा

मुटु मौलाउन रोक लगाएपछि
क्याक्टसले पलाँससँग सम्बन्ध जोडे
त्यसपछि सकस र छट्पटी भएको हो
ती भित्तामा सजिएको हाम्रा
प्रेमिल तस्बिरहरूलाई

थाम्नै नसकेर वियोगका पीडा
स्तब्ध उभिएको छ तस्बिर भित्तामा
पहाड जस्ता भित्ताहरुबाट
समवेदनाको अन्त्य गर्न
ठोक्किएका हुन् पत्थरहरुमा
जीवनको सम्पूर्णता बोकेका
प्रेमिल सग्लो तस्बिरहरू

बिछोडको सहबास
शुन्यतासँग ठोक्किए पछि
झल्यास्स झस्कन्छु म
फर्कन्छु भित्ता तर्फ
नियालिरहन्छु तस्बिरहरूमा प्यारो अतित

आकांक्षा टुक्रिएर छरिन्छ भुईंभरि
टुक्राटुक्रा बटुलेर राख्न दौडन्छु म
तर, सम्झौता गर्न मान्दैनन् भित्ताहरु
त्यसैले, तिमीले छोडेर गएपछि
तस्बिरहरू दाहसंस्कारमा दौडिरहे
फर्किए तस्बिरहरू खुसीको अस्तु बोकेर
तबमात्र
स्वतन्त्र हुँदै गएका हुन्
ती भित्ताका तस्बिरहरू ।
बूढानीलकण्ठ

प्रतिक्रिया