शनिबार, वैशाख १५, २०८१

बलात्कृत किशोरीको सुसाइट नोट

सुभद्रा ढकाल २०७९ असोज १६ गते १३:१५

साउनको महिना । बस्ती नै बगाउँछु जसरी उर्लिएको त्रिशुली । छपक्कै कुहिरोले ढाकेको बट्टार बजार । घरका सबै जना मस्त निद्रामा हुँदा त्यो रात गंगालाई भने निद्रा लागेन । घडीमा रातको बाह्र बज्न दुई मिनेट बाँकी रहेछ । बाहिर हावापानीको बहाव र गंगाको मानसिक विक्षिप्तता उस्तै थियो ।

सिरानीमा तीन वटा कागज पट्याएर जतनले राखी । सुस्त गतिमा ढोका खोलेर आँगनीमा निस्की । उसलाई सम्झना आयो केही दिन अगाडि जन्मिएको मसिना बाख्राका पाठा । माउसँगै टाँसिएर सुतेको गाइको बाच्छो । घरको अभिन्न अंग जस्तै वार्दलीमा बाँधेको खैरे कुकुर ।

लामो सास फेरेर सडकमा पुगी । त्यसपछि उसका पाइला त्रिशुलीतिर मोडिए ।

गंगाले मध्यरातमा कहिल्यै घर छाडेर थिइन । कलिला गोडाले सयौंपटक हिँडेको बाटामा उसको पैताला निकै भारी भए । मानौँ, आफू भन्दा ठूलो भारी बोकेर करोडौं किलोमिटरको यात्रा गर्दैछे । विस्तारै त्रिशुलीको किनारतिर लागी । उसको अघिअघि एउटा सेतो मान्छे हिँडेझैँ लाग्यो टाउको स्पष्ट देखी तर शरीर भने देख्न सकिन् । उसले धेरै पटक आफ्ना बाबाको मुखबाट भुतको कथा सुनेकी थिई । कथा सुन्दा त धेरै डराउने केटीलाई आज पटक्कै डर लागेन ऊ डराउनुपथ्र्यो डराइन्, फर्किनुपर्थ्यो फर्किन रुन पथ्र्यो रोइन । पुलको मध्यभागमा पुगेर त्यो दृश्य ठिंग उभियो । गंगा नदी किनारतिर लागी ।

बाल्यकाल सम्झी । आफूले हिँडेको बाटो, आफूले देखेको सपना, बाआमा, आफूभन्दा निकै सानी बहिनी सम्झेर बर्रर आँसु झारी अन्तमा दाहिने हातले पेट समाएर त्रिशुलीसँगै वेपत्ता भई । अर्को विहान गंगा हराएको सूचना पधेरोदेखि चिया पसलसम्म फैलियो । सबैले आफ्नो क्षमताअनुसार अनुमान लगाए । कसैले भन्थे पोइल गई । कसैले भने काठमाडौँ गई । तर कसैले थाहा पाउन सकेनन् गंगा कहाँ गई ? पुलिसले खोज्यो, गाउँले, आफन्तले खोजे । ऊ भेटिइन । बरु उसको सिरानीमा बहिनीले तीनवटा पत्र भेटी ।

पहिलो पत्रको विवरण यस्तो थियो :
बाआमा
सबैभन्दा पहिला म तपाइँहरुसँग क्षमा माग्छु । थाहा छैन समयले कता लैजान्छ म कता पुग्छु ? छोरी निदाएको सिरानमा छोरी हराएको सूचना पाउँदा कुन मनस्थितिमा गुज्रनुहुन्छ त्यसको सहजै अनुमान गर्न सक्छु । बाल्यकालका दिन निकै उज्याला थिए । छोरी किशोरी हुँदै गएपछि पनि घर उज्यालो हुन्छ भन्ने तर्कमा मेरो पूर्ण विमति छ । मस्तिष्कले होइन हृदयको मसीले यी कुरा लेख्दै छु । मन बरालिएर हिँडेको मान्छेको गन्तव्यको कुनै टुंगो हुँदैन । म त्यही नियति भोगिरहेकी छु । जीवनका सम्भावित बाटाहरु भत्किसके । धैर्य आँट र साहस चुँडिएको छ । पितृसत्ता, रुढीवाद र अन्धविश्वासमा अडिएको यो समाजले काँचुली फेर्नै सकेन । आधुनिक मान्छेहरु पूरानै मानसिकता र संकीर्णतामा अल्झिरहे ।

हरेक कुरामा पश्चिमाहरुको नक्कल गर्नेहरु विचारको मामिलामा निकै संकुचित भए । मंसिरको दोस्रो हप्ता राजधानीबाट फर्कँदा कल्पनै नगरेको घटना घट्यो । त्यही दिनदेखि बर्बादी र कहालीलाग्दा दिन सुरु भए । काठमाडौंबाट फर्कँदा ३५ किलोमा गाडी बिग्रियो । बनाउँदाबनाउँदै रात पर्यो । घर फर्कंने आशा र सम्भावना सकियो । मसँग कमल भिनाजु र ठूलो मामाको छोरो प्रभात दाइ हुनहुन्थ्यो । आफन्त भेटेपछि आफूलाई सुरक्षित ठानेर त्यहीँ बस्ने निष्कर्ष निकालें । भिनाजुले दुई वटा कोठा बुक गर्नुभयो । खाना खाएर हामी आआफ्नो कोठामा सुत्यौं । रातको १२ बजेकाे हुँदो हो ढोकामा ढकढक आवाज आयो । केही समस्या पर्यो कि ठानेर ढोका खोलें । प्रभात दाइ भित्र पसेर चुकुल लगाउनुभयो । त्यसपछिको घटना म हजुरहरुलाई बताउन सक्दिनँ ।
त्यस घटनाको एक महिनापछि थाहा पाएँ म त गर्भवती पो भएछु । न कसैलाई भन्ने आँट आयो । न गर्भपतन गर्ने हिम्मत जुटाएँ । निकै समयमसम्म मानसिक तनावमा गुज्रिरहेँ । मैले भनेकै भएपनि यो कुरा हजुरहरुले विश्वास गर्नुहुन्थेन । समाजमा हजुरहरुको वेग्लै प्रतिष्ठा छ । त्यसमा आँच आउनु हुँदैन भन्नेमा निकै सजक थिएँ ।

परिवार र समाजको इज्जत जोगाउँछु भन्दा समयले निकै टाढा हुत्याइसकेछ । आलस्य र वर्वादीले म टुक्रिदै गएँ । धेरै हिम्मत गरेर साथी रमिलालाई सबै घटना सुनाएँ, त्यसपछि ऊ तर्केर हिँड्न थाली । महिलाअधिकारकर्मीलाई पनि पटकपटक भनेँ, तर पूरै बेवास्ता गरिदिए । जाने ठाउँमा गएँ, भन्नेहरुलाई भनेँ, आशा धेरैले देखाए तर सहयोग कसैले गरेनन् । अरुको कर्तुतले मलाई दिनप्रतिदिन वर्वादीको बाटोमा धकेल्यो । तर्क र विर्तकको मझधारमा उभिएर सही के गलत के हो ? छुट्याउनै सकिनँ ? राष्ट्रियस्तरको महिला बलात्कृत हुँदा संजाल तताउने अधिकारकर्मी हामी जस्ता किशोरी बलात्कृत हुँदा एक शब्द पनि नबोल्दा रैछन् ।

बाआमा, के छोरी जन्मनु पाप हो ? छोरी सृष्टिको उपहार हैन ? तर खै त समाजमा हाम्रो कदर ? छोरीको इज्जत कुमारित्वसँग मात्रै जोडिएको हुन्छ र ? छोराले गरेका गल्तीको सजाएँ पनि हामीले नै पाउनुपर्छ हो ? मानौं हामी भोग्नका लागि मात्रै जन्मिएका हौ । समाज स्वतन्त्र उत्पादनशील र समतामूलक हुनुपर्छ भन्ने मान्यता राख्नेहरु यस मामिलामा किन चुक्छन् ? इन्टरनेटको विकाससँगै पोर्नेग्राफी घरघरमा पसिसक्यो । मूलधारका पत्रपत्रिका, सिनेमा, टेलिभजनमा जताततै छरपष्ट दृश्यहरु देखिन्छन् तर पनि छोरीलाई यौन शिक्षा दिने यो समाज किन तयार छैन ?

पेटमा मामाको छोराको बच्चा बोकेर कसरी बाँचूँ ? म जिउँदो रहेँ भने हजुहरुनै मलाई साथ दिन डराउनुहुन्छ । आफैँ भन्नुस त कसले मलाई उर्जा दिन्छ, कसले न्याय दिन्छ ? बरु दिनप्रतिदिन प्रश्नहरुको वर्षात् हुन्छ । त्यसपछि मानसिक, समाजिक र पारिवारिक रुपले विक्षिप्त हुन्छु । आफूभित्र रहेको रित्तो र खालीपन मैले कहाँ गएर पूरा गर्नु ?

म खण्डित र विभाजित भएँ । चरम निरासाले भरिएर मात्रै होइन आफ्नै जीवनमा घटेको पत्याउनै नसकिने घटनाले सम्भावित अगाडिको बाटो सबै ब्लक भइसक्यो । बहिनीको राम्रो ख्याल गर्नू । भविष्यमा बहिनी निडर र साहसी हुने कुरामा म विश्वस्त छु ।

हजुरहरुकी छोरी गंगा

बहिनी भन्थी दिदी सधैँ बग्नुपर्छ तालबाट नदी, नदीबाट समुन्द्र । तर बगेर कहाँ पुगी गंगा कहाँ पुगेर सकियो बहिनीको आँखाको आँसु ? अर्को पत्र उसले आफ्नो प्रेमीको नाममा सम्बोधन गरेकी थिई ।

डियर हेमप्रकाश
मुटुबाट सुरु भएको हाम्रो सम्बन्ध सामाजिक डायरामा पुगेर टुगिंयो । मेरो जिन्दगीमा घटेको दुखद घटना तिमीलाई सुनाउने आँट मसँग बाँकी छैन । बाटो फेला पार्नुभन्दा हराउनु निकै सजिलो रैछ । पेटमा बलात्कृत बच्चा बोकेर सिरमा तिम्रो पवित्र सिन्दुर सजाउने सामर्थय राखिनँ । जुन रात म बलात्कारमा परेँ त्यसै रात म सबै कुरा सकियो । मानसिक रुपमा विक्षिप्त हुँदै गएर डिप्रेसनको सिकार भएछु । तिम्रो भविष्य सम्झेर पनि तिमीसम्म अगाडि बढेका मेरो गोडा तत्कालै भाँचिए ।

तिमीले दुई वर्षपछि जापानबाट फर्केर विवाह गर्छु भन्छौ तिम्रो सपना पूरा गर्न सकिनँ माफ गर । तिमीसँग तिमी मात्र छैनौं तिम्रा आफन्त, दिदीबहिनी, बाआमा र सामाजिक दायित्वसँगै जोडिएको छ । तिमीले अपनाए पनि समाजले कुनै हालतमा स्वीकार गर्न सक्दैन् । दिनप्रतिदिन तिमीप्रति हुने सम्भावित घटना र तिरस्कारलाई मध्यनजर राखेर त्रिशुलीमा समाहित कठोर निर्णय गरेँ । मन लज्जा र ग्लानिले पूरै भिजेको छ । आफूले गर्दै नगरेको गल्तीको सजाएँ भोग्दै छु ।

छोराहरुलाई साहसी हुन सिकाउने समाजले हामी छोरीहरुलाई किन सहनशील हुन सिकाउँछ ? सुरक्षित गर्भपतन सेन्टर देख्दा पनि मन सिरिंग हुन्छ । सुरक्षित गर्भपतन सेन्टरमा छोरीहरुको चित्कार मात्रै सुन्छु । गर्भमै सुरक्षित हुन नसकेकी छोरी बाहिर कसरी सुरक्षित हुन सक्छे र ? हामीलाई न आमाहरुले यौन शिक्षा पढाउँछन् । न आफूभन्दा माथिको अभिभावकले सिकाउँछन् । हाम्रो जिन्दगी त चारपर्खालभित्र मात्रै सीमित छ । हरेक दिन रेडियो टेलिभिजनमा बलात्कारको समाचार सुन्दा कान थुन्थें तर आज आफैँले यो नियति भोग्दै छु ।

छोरीहरुले न्याय नपाउने यो कस्तो सामाजिक संरचना ? के हरेक छोरीहरुले आफ्नो जिन्दगी अरुका लागि समाहित गरेर बाँच्नुपर्ने हो त ? अरुले गरेको दोष नारी पक्षले मात्रै बोक्नुपर्छ र ? सम्बन्धको एक्सिडेन्ट छोरी मान्छेलाई मात्रै भिडाउने चलन छ । त्यही मामिलामा पुरुष प्ले ब्वाइ कहलिन्छ त्यही काममा छोरी चलित्रहीन ठहरिन्छे । यो कस्तो न्याय प्रणाली हो ? यो कस्तो संरचना ? हुन त सहरका अधिकांश घटनाहरु कानूनलाई हातमा लिएर घटाउँछन् भन्ने सुनेको छु । जोसँग शक्ति छ उसैकै राज्य चल्छ रे । मजस्ता हजारौँ छोरीहरु यसैगरी त्रिशुलीमा समाहित हुँदा दोषी समाउनु त कहाँ हो कहाँ एउटा सानो समाचार समेत आउँदैन ।

कोही सेलिब्रेटी बलात्कृत हुँदा उनीको समाचार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको समाचार बन्छ तर हामी जस्ता गाउँ सोझा सिधा र साँच्चै बलात्कारको पीडा भोगेका छोरीहरु पत्रकारको आँखामा कहिल्यै पर्दैनौं। पहुँचवालाले मात्रै न्यायको अनुभूति गर्ने रहेछन् । पश्चिमा समाजको खानापानदेखि लगाउने कपडासम्म अनुसरण गर्ने समाज कति संकीर्ण सोच, संरचना र मानसिकता बोकेर बाँचेको छ । इतिहास जित्नेहरुको लेखिन्छ तर मैले हारेँ । घमन्डी स्वाभिमान र झुटो विनम्रताले बोकेर कति मानिस स्वाभिमान देखाउन चाहन्छन् । मैले जिन्दगीमा गरेको निर्णय गलत छ । तर म गलत निर्णयलाई सही मानेर कहिल्यै नफर्किने यात्रामा निस्कदै छु ।

तिमीलाई माया गर्ने गंगा

तेस्रो पत्र उसले बहिनीलाई सम्बोधन गरेर लेखेकी थिई । जसको विवरण यस्तो थियो :

प्यारी बहिनी इरा
जन्म र मृत्यु जीवनका साश्वत दुई सत्य हुन् । म दोस्रो सत्यलाई अँगाल्दै छु । कहिलेकाहिँ मन नपरेको बाटोमा हिँड्नुपर्दो रहेछ । मलाई थाहा छ आत्महत्या सही बाटो हुँदै होइन तर अन्य विकल्पहरु बाँकी छैनन् । जिन्दगीको अधिकांश समय ख्याख्यालमै बित्यो । बाहिरबाट हेर्दा म जति सामान्य र खुसी देखिन्थे भित्रभित्र खरानी भएर जलिसकेको थिएँ । तर्क र विर्तकको मझधारमा उभिएर धेरै पटक स्वर्णिम समय बर्बाद गरें। तिमीलाई यो पत्र लेख्दा आँखामा सेती सुसाएको छ ।

प्यारी इरा, तिमी सानी र फूलजस्तै कोमल छौं । फक्रँदै गएपछि तिमीले हजारौं भमरा र काँडासँग जुधेर फक्रनुपर्नेछ । तिमीले पनि मैले भोगेको नियतिको सिकार भोग्न नपरोस् ठानेर सत्य कुरा बताएर जाँदै छु । छोरी मान्छेलाई न बाँच्न सजिलो छ न मर्न । बाचन्जेल समाजको दायराभन्दा बाहिर निस्किए घृणित भएर बाँच्नुपर्छ मर्दा न्याय पनि हामीसँग मर्छ । निहारिका राजकपुत जस्ता छोरीहरु कहिलेसम्म यो सडकमा न्यायको भीख मागी रहने ? हत्यारा खुलेआम मर्द बनेर हिँड्दा काखमा विना बाउको छोरो बोकेर कतिदिन अनसन बस्ने ?

इरा, सामाजिक संजाल कस्तो छ तिमीले देखेकै छौ । घटना घटेपछि सबै वकिल र न्यायधिश बन्छन् तर परेको बेलामा बोल्ने आफू बाहेक आफ्ना लागि कोही हुँदैनन् । पेटमा बलात्कृत बच्चा लिएर बाँच्दा यो समाजले कुन नजरले हेर्ला ? बाबा आमाको समाजमा इज्जत प्रतिष्ठा कहाँ पुग्ला ? हामी छोरीहरुको ज्यानभन्दा पनि समाजको इज्जत ठूलो रहेछ । जिउँदा छोरीहरुले नपाएको न्याय मरेपछि पाइन्छ भन्ने कुरामा म विश्वस्त छैन । निर्मला भागिरथी जस्ता छोरीहरु आँखा अगाडि जिउँदै जल्दा पनि यो राज्यले निरीह भएर हेरिरह्यो । तिमी समाजको सहासी छोरी बनेर चौतर्फी उज्यालो फैलाउनुपर्छ । तिमी साहसी र निडर छोरी हौ भन्ने कुरामा म विश्वस्त छु । परिवार, समाज र राज्यलाई तिमीले खबरदारी गर्नै पर्छ नत्र समाजले हामी छोरीहरुलाई मर्न बाध्य बनाइरहन्छ ।

मामाको छोराले ममाथि गरेको बलात्कारको कुरा बाआमालाई सुनाउनै सकिन् । मैले सुनाएँ भनेपनि उहाँहरुले मेरो विश्वास गर्नुहुन्न । छोरीलाई न्याय दिलाउन उभिनुको साटो अरु छोरीहरुको सवाल उठाउनुहुन्छ । मेरो पक्षमा बोल्ने कोही हुँदैनन् मैले जाने बाटो कतै हुँदैन । प्राय समाजका मान्छे बलियाका पक्षमा बोल्छन् । बलात्कारका पीडित र उनका पारिवारलाई पुनर्स्थापना गर्न सोचेजस्तो सजिलो छैन इरा । सबैले हामीलाई नै दोषी ठानेर छिःछिः र दुरदुर गर्छन् ।

हामीले चाहेर पनि पीडा भुल्न पाउँदैनौं । प्रहरी र वकिल, पत्रकार, युटुवर सबैसँग घटनाको बयान दिनुपर्छ । न्यायाधीशलाई त्यसबारे जवाफ दिनुपर्छ । विपक्षी वकिलले सोध्ने ‘असंवेदनशील’ प्रश्नको जवाफ दिँदा पनि पटकपटक बलात्कारमा परेको भन्दा कम पीडा हुन्न । त्यस्तो बेलामा परिवार आफन्त र समाजको मायाले आधा पीडा निको हुन्छ तर कसरी साथ पाउने ? परिवारभित्रको हाडनाता करणीमा घटना लुकाउने र मुद्दा दर्ता नगर्ने कुरा सामान्यझैँ हुन्छ भन्ने सुनेछु । बलात्कृत बालिका किशोरीका आमाले घरपरिवार त्याग्न तयार नभए मुद्दा नै चल्दैन । मुद्धा कुन मोडमा पुगेर टुंगिने हो थाहै हुँदैन रे । त्यसकारण म मुद्दा गरेर न्याय पाउन सक्छु भन्ने कुरामा ढुक्क छैन ।

अचेल सामाजिक संजाल र युटवरले सोध्ने प्रश्नले त झन विक्षिप्त नै बनाउँछ । सबैतिरबाट विक्षिप्त भएर हामी नारीहरु कहाँ जाने ? हुन त सहरतिर पैसा र पावरको आडमा उभिएर केटा मान्छेलाई झुटो आरोप लगाउने पनि उतिकै छन् भन्ने सुनेकी छु । तिनीहरुकै कारणले हामीजस्ता बास्तविक बलात्कृत किशोरीहरु झन समस्यामा परेका छौं ।

च्याउसरी उम्रिएका अनलाइनले केही नसोची पैसाको मोहमा उभिएर सेल्रिबेटीको चरित्रहत्या गर्दा हामी जस्ता वास्तविकको पीडितको आवाज किन छाप्न सक्दैनन् । किन चल्दैन निमुखामाथि पत्रकारको कलम ? कमिलाको ताँती जसरी युटवर अन्तर्वाता लिन आइपुग्छन् । तर हामीले न्याय भने पाउन सक्दैनौँ । तिमी साहसी हुनु सधैँ आफूमाथि भएको घटनाको प्रतिकार गर्नू ।

उही तिम्री दिदी गंगा

तीन वटा पत्र पढेपछि इराको आँखामा आक्रोशको ज्वाला बल्यो । ऊ रुनुपथ्र्यो रोइन् । त्यसैदिन उसले आफ्नी दिदीको बलात्कारीलाई सजाय दिने र आफूले समाजको कुसंस्कार तोडेर हजारौं छोरीहरुको पक्षमा उभिने दृढ संकल्प गरी ।

प्रतिक्रिया