बिहीबार, असोज २४, २०८१

भूपी जयन्ती : संझना कवि भूपी शेरचनको

सुनिल उलक २०७९ पुष १० गते ९:४६

भूपी शेरचनको जन्म बि.सं. १९९२ पौष १० गते मुस्ताङ जिल्लाको टुकुचेमा भएको थियो । जन्मको नाम भुपेन्द्रमान शेरचन भए पनि शुरूमा भुपेन्द्रमान शेरचन्द ूसर्वहाराू नामबाट कविता लेखेका थिए । घुम्ने मेच माथि अन्धो मान्छेको प्रकाशन गर्दा भूपी शेरचन लेख्न थालेका हुन् र यहि नामले सर्वाधिक चर्चित पनि भए ।

भूपीका पुर्खा बलवीर थकालीले भोटसंगको युद्धमा दोभाषेको रूपमा काम पाएका थिए । जंगबहादुरले युद्धमा उनको योगदानलाई कदर गर्दै बौद्ध धार्मिक ग्रन्थ काङ्ग्यूर र टेङ्ग्यूरको पाण्डुलिपि उपहार दिएका थिए । १९१७ मा भोटको नुन तथा अन्य बस्तुको बिक्रीको कर उठाउने ठेकेदारी पाएका चम्पासिंह खड्का क्षेत्रीको सहयोगीको रुपमा बलवीरले काम पाएका थिए । चम्पासिंहलाई बिभिन्न आरोपमा समातेर जेलमा राख्दा बलवीर भागेर काठमाडौ गइ जंगबहादुरलाई बिन्तिपत्र चढाए पछि उनका दुश्मनहरू सबै समातिए साथै ब्यापारको सिमा पनि कास्कीसम्म भयो । यहि समयमा थकाली परिवारहरू थाकखोलाबाट बाहिर कास्की तथा लमजुङमा बसाइ सरेका थिए ।

बि.सं. १९२५ मा दानामा भोटको ब्यापारको भन्सार रकम उठाउने ठेकेदारी यिनै बलवीर थकालीले पाए पछि बलवीरको परिवारको जीवन स्तर निकै उकासिन थालेको थियो । यिनै बलवीर थकाली नै भूपी शेरचनका बुढा जिजुबाजे हुन् । उनका जिजुबाजे कविराम कोवाङबाट टुकुचेमा बसाइ सरेका थिए । थाकखोला, कोवाङ तथा टुकुचेमा सर्वाधिक धनी तथा राणाकालमा सुब्बाको पद पाएका परिवार भएकोले भूपीको शान पनि कुनै राणाको भन्दा कम थिएन ।

उनकै जेठो दाजु अनंगमान शेरचनले पनि निकै समय भैरहवा भन्सारको ठेकेदारी पाएका थिए । यसरी पारिवारिक रूपले सम्पन्न भूपीले भने बाल्यकाल रमाइलो गरी बिताउन पाएनन् । उनि भन्दा माथी चार छोराको जन्म भैसकेकोले उनका बाबु हितमान शेरचन छोरीको चाहनामा थिए । तर छोराको जन्म त्यो पनि मूल (औसी) मा परेको भनि बाबुको उपेक्षा रह्यो । एउटै माया गर्ने आमाको पनि पाँच वर्षको हुदा नै मृत्युले अझ मायाको अभावमा हुर्के । १०-१२ वर्षको उमेरबाटै बनारस पढ्न गएका उनको त्यहिँबाट नै चुरोट तथा रक्सीको लत लाग्यो । यहि नै मार्क्सवादी चिन्तनको प्रभावमा परे जसको असर उनका कविताहरूमा स्पष्ट देख्न सकिन्छ ।

२०१२ मा सानै उमेरमा पारिवारिक दवावमा बिबाह बन्धनमा बाँधिएका उनि पछि स्वेच्छाले राणा परिवारसंग बिबाह बन्धनमा गाँसिए । चालीस हजारमा बाबु हितमान शेरचनले किन्नु भएको राणा वडाहाकिम धनशम्शेरको पोखराको सेतो दरवार नै उनको निवास भए पनि कान्छी बिबाह गरे पछि अधिकांश समय काठमाडौ नै बसे । उनले आफुलाई यसरी वर्णित गर्थे ‘औंसीमा जन्मी मूलमा पर्नु, किशोरावस्थामा कम्युनिस्ट भएर भूलमा पर्नु र अहिले कर्मनिस्ट हुनु।’ यसरी बिभिन्न आरोह अवरोह पछि २०४६ जेठ १ गते सदाको लागी संसारबाट बिदा लिए ।

प्रतिक्रिया