के डेल्टाक्रोनले विश्वको चिन्ता बढाउँदै छ ?

काठमाडौं । विश्व स्वास्थ्य संगठनले गएको साता कोरोनाको नयाँ भेरिएन्ट ‘डेल्टाक्रोन’ लाई पुष्टि गरेको थियो । वैज्ञानिकहरुका अनुसार यो भेरिएन्ट डेल्टा र ओमिक्रोन भेरिएन्ट मिलेर बनेको हो । यसमा कुनै पनि व्यक्ति एउटै समयमा डेल्टा र ओमिक्रोन बाट संक्रमित हुनसक्छ ।
वैज्ञानिकहरुले यो नयाँ भेरिएन्टका बारेमा बढीभन्दा बढी जानकारी खोजिरहेका छन् किनभने अहिले यस विषयमा निकै सीमित जानकारी मात्र उपलब्ध छ । वैज्ञानिकहरु भन्छन्- यो भेरिएन्ट कति खतरनाक र संक्रामक छ अहिले नै केही भन्न सकिँदैन । यसका लागि केही समय पर्खिएर हेर्नुपर्ने हुन्छ । डब्ल्यूएचओका अनुसार हालसम्म यो नयाँ भेरिएन्ट त्यति गम्भीर देखिएको छैन । हार्वड टीएच चेन स्कुलका महामारी विज्ञ विलियम हेनेजले भनेका छन, ‘यदि आएका केशहरुमा जटिलता छैन भने यसबाट डराउनु पर्दैन ।’
नेपालमा पनि डेल्टाक्रोन ?
जानकारहरुका अनुसार डेल्टाक्रोनका बिरामी संसारका विभिन्न देशमा देखापरेका छन् । केही मिडिया रिपोर्टमा डेल्टाक्रोनका बिरामी फेला परेका मुलुकमा युरोप, चीन, भारतसहित नेपालको नाम पनि उल्लेख छ । तर नेपाल सरकारको आधिकारिक निकायले यसको पुष्टि गरेको छैन । उता भारतमा ओमिक्रोन र डेल्टाको संयुक्त संक्रमण भएका केही बिरामी फेला परेको मिडियाहरुले जनाएका छन् । जिनोम सिक्वेन्सिङमार्फत कोरोनाको भेरिएन्ट पत्ता लगाइन्छ ।
डेल्टाक्रोनका विशेषता
युरोपका स्वास्थ्य सुरक्षा एजेन्सीहरुले डेल्टाक्रोनमाथि लगातार निगरानी गरिरहेका छन् । अहिलेसम्म यसको खास विशेषता तथा प्रभाव अगाडि आइसकेको छैन । यद्यपि केही लक्षण देखिए सावधानी अपनाउँदै बेलैमा चिकित्सकको सेवा लिनु उपयुक्त हुन्छ ।
-उच्च ज्वरो
-खोकि
-गन्ध हराउनु
-नाकबाट सिँगान बग्नु
-थकान महसुस हुनु
-टाउको दुख्नु
-श्वास लिन कठिनाइ हुनु
-मांसपेशी वा शरीरमा पीडा
-सुक्खा गला
-बान्ता
-पखाला
-स्वाद हराउनु
के गर्ने ?
भाइरसको प्रसार रोक्ने सबैभन्दा प्रभावकारी उपाय कोभिड प्रोटोकल फलो गर्नु नै हो । उपयुक्त ढंगले नियम पालन गरे यसबाट जोगिन मद्दत मिल्छ । यसबाट भाइरस विकसित हुने तथा फैलने सम्भावना पनि कम हुन्छ । तसर्थ मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने तथा भिडभाडबाट जोगिने कुरालाई निरन्तरता दिइरहनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया