नुवाकोटमा आगलागी हुँदा तीन घर जलेर नष्ट

काठमाडौं । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुंगानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहना सहितको धनसम्पत्ति सबै जलेर क्षति भएको छ ।
स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडा अध्यक्ष घननाथ बजगाँइले जानकारी दिएका छन् । उनका अनुसार तीन घर सहित घरमा रहेको धनसम्पत्ति सबै जलेर नष्ट हुँदा ५० लाख रुपैयाँ भन्दा बढीको क्षति पुगेको देखिएको छ । आगलागीको कारण यकीन नभए पनि विद्युतीय मिटर बक्स बाट आगो सुरु भएको देखिएकाले विद्युत् सर्ट भएर हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले आज टेन्ट लगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । पीडित परिवारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मार्फत टेन्ट सहितका गैरखाद्य राहत सामग्री र नुवाकोट प्रशासनले नगद रुपैयाँ घटनास्थलमा नै पुगेर पीडित परिवारलाई उपलब्ध गराउन लागेको छ ।

प्रतिक्रिया