निसीखोला आलु-मकै पकेट क्षेत्र घोषणा

नेपालखोज २०७८ चैत ५ गते ११:३६

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका लाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो । वडा नं २ मा आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिएका छन् ।

गाउँपालिकाले गत वर्ष सात वटै वडामा विभिन्न फलफूल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकोमा यस वर्ष चार वडालाई आलु तथा मकैको पकेट क्षेत्र घोषणा गरिएको उनको भनाइ रहेको छ । शाखा प्रमुख परियारले पकेट क्षेत्रमा उपभोक्ता समिति निर्माण गरी सम्झौता समेत भइसकेकाले अब काम अगाडि बढ्ने बताए । वडा नं ५ र ६ मा आलु उत्पादनका लागि अत्यन्तै उर्वर भूमि मानिने हुदाँ यहाँका वडावासीले वर्षौं देखि आलु उत्पादन गरी यसैबाट जीविकोपार्जन समेत गर्दै आइरहेका छन् ।

निसेलढोर स्याउ र आलु उत्पादनका लागि बढी उर्वर भएपनि गाउँपालिकाले त्यहाँ कृषिका लागि बजेटको व्यवस्था गर्न नसकेको स्थानीयवासीले बताए । ढोरपाटन सिकार आरक्ष समेत पर्ने निसेलढोरमा हरेक वर्ष स्थानीयवासीले लाखौँ रुपैयाँका स्याउ, आलु र सिमी उत्पादन गर्दै आएको छ । त्यस क्षेत्रमा उत्पादन बढाउन गाउँपालिकाको ध्यान पुगेको छैन् । गाउँपालिकाले कृषिका लागि यस वर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गर्दै शाखाप्रमुख परियारले यसबाट कृषकलाई उन्नत जातका बीउबिजन वितरण र माटो शिविर सञ्चालन गरिने बताए ।

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले कृषकलाई समय–समयमा कृषि परामर्श तथा तालिम समेत दिँदै आएको र अब केही अनुदानका कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिए । कृषकले अझै पनि परम्परागत खेती प्रणाली अपनाउँदै आएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्न गाउँपालिकाले जोड दिँदै आएको बताए ।

प्रतिक्रिया