शुक्रबार, जेठ ११, २०८१

अध्यक्ष ओलीले भने- समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छ

नेपालखोज २०७८ चैत ५ गते १६:१४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले स्थानीय तहको निर्वाचनमा धेरै स्थानामा पार्टीले जितेमा राष्ट्रिय सभामा आफ्ना प्रतिनिधि लान सकिने र देशको विकासको कामलाई स्थानीय तहबाट उठाएर जनताका चाहनालाई माथि लान सकिने बताए ।

उनले भने, ‘सत्ता गठबन्धन सँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मनोवैज्ञानिक त्रास छ भने हटाउन म साथीहरुलाई आग्रह गर्दछु । ज्येष्ठ नागरिक , युवा , गृहिणी , राष्ट्रसेवक सबैका पक्षमा हामीले सरकारमा हुँदा काम गरेका छौँ । ती सबैले एमालेलाई मत दिने भएपछि हामी पछाडि पर्ने कुनै सम्भावना छैन ।’ आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।

उनले गत निर्वाचनमा पनि गठबन्धनलाई पराजित गरेर एमाले जस्केला बाट नभई मूल ढोका बाट सरकारको नेतृत्वमा पुगेको स्मरण गराउँदै पुन : एमालेले सत्तारोहण गर्ने दाबी गरे । अध्यक्ष ओलीले आजै मदन भण्डारी फाउन्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै समृद्ध मुलुक निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्न बौद्धिक जगतले जागरण ल्याउने काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया