बुधबार, जेठ २, २०८१

सुदूरपश्चिममा ओरालो लाग्दै काेराेना, तीन जिल्ला संक्रमणमुक्त

नेपालखोज २०७८ चैत ५ गते १६:३९

काठमाडौं । कुनै बेला कोरोना भाइरस संक्रणकाे उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल संक्रमणदर ओरालो लाग्दै गएको छ । भारत सँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितकाे संख्या न्यून रहेको छ । यो हप्ताको शुक्रबार र आइतबार काेराेना संक्रमितकाे संख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अन्य दिनहरुमा पनि संक्रमितकाे संख्या पाँच भन्दा पनि कम रहेको छ । हप्ताको दोस्रो दिन सोमबार पाँच जनामा, मंगलबार र बुधबार एक/ एक जनामा, बिहीबार दुई जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिए सँगै गत माघमा त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको थियो । त्यसपछि बैतडीको झुलाघाट, पुलघाट, दार्चुलाको जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट फर्किने अधिकांशमा कोरोना भाइरस संक्रमण देखिन थालेको थियो ।

हाल भने संक्रमणदर निकै कम रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् । उनले भने, ‘विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमण घटेको छ ।, छिमेकी राष्ट्र भारतमा पनि संक्रमणदर न्यून छ , त्यसकै प्रभाव सुदूरपश्चिममा पनि हो ।’ हाल संक्रमणदर घटेको भए पनि जोखिम भने कायमै रहेको उनले बताए । अन्तर राष्ट्रिय स्वास्थ्य नियमावली २००५ अनुसार सीमा नाकामा परीक्षण कार्य जारी राखिएको जनाइएको छ । जोखिम कायमै रहेकाले भारत सँग सीमा जोडिएका सबै नाकाहरुमा स्वास्थ्य चेक जाँचमा कडाइ नै गरिएको कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

सीमा नाकामा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षणको काम निरन्तर रुपमा भइरहेको छ । कोरोना भाइरस संक्रमणदर ओरालो लागे सँगै सुदूरपश्चिमका तीन जिल्लामा संक्रमण शून्य रहेको छ । प्रदेशका नौ जिल्ला मध्ये डोटी, अछाम र बाजुरामा हाल एक जना पनि कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमित नरहेको निर्देशनालयको तथ्यांकमा उल्लेख रहेको छ । प्रदेशका अन्य जिल्लामा गरी कूल ४० जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी कैलालीमा २५ , कञ्चनपुरमा नौ , बैतडीमा तीन , दार्चुला, डडेल्धुरा र बझाङमा एक/ एक जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ भने अरू सबै होम आइसोलेशनका बसेका छन् ।सुदूरपश्चिमममा हालसम्म ५९ हजार ५९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच लाख २३ हजार ६९९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण देखिएको हो । संक्रमणकै कारण यस प्रदेशमा हाल सम्म ६३३ जनाको मृत्यु भइसकेको छ ।

संक्रमणदर कम भएको भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले सबैमा आग्रह गरेको छ । सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसविरुद्धको खोप अभियानलाई बढाइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहेको छ । पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा र ६ महिनापछि बुस्टर डोज दिइन लागिएको हो । यस अघि लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया