आइतबार, जेठ ६, २०८१

भानु जयन्तीको कर्मकाण्ड, हाम्रा भाषालाई तर्पण

नारायण खड्का २०८० असार २९ गते २१:०४

तनहुँ । ‘बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली

बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलिभोलि

कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि

भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली।’

आदिकवि भानुभक्त आचार्यका यी श्लोकहरू अहिले कागजमा मात्र लिपिवद्ध छन, उच्चारण र वाचन भने हुन छाडी सकेका छन्। आदिकवि भानुभक्तलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पंक्ति सहजै स्मरणमा आउँछन्। नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धानकर्ताले निरन्तर पछ्याउँदै आएका छन्।

आफ्नै घरपरिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरू सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएको पाइन्छन्।

तर, यिनै नेपाली भाषाको भाषिक एकीकरण गरेका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती पछिल्लो समय कर्मकाण्डी बन्दै गएको छ। असार २९ गतेका दिन भानुको सालिकमा माल्यार्पण गर्दै आफ्नो टाउकोमा बिर्के टोपी लगाएर उनको योगदानको चर्चा त हुन्छ। त्यसपछि भानुभक्तको बिर्सिन्छ ३६४ दिन। अब त यस्तो पुस्ताको निर्माण भइसकेको छ, जो न आफ्नो मातृभाषा राम्ररी बुझ्न सक्छ न नेपाली न अंग्रेजी। बोलीमा पनि त्यति नै निकम्मा छ।

भानुभक्तको जन्मस्थल भानु नगरपालिकाको चुँदीरम्घामा असार २९ गते अर्थात भानुजयन्तीमा सामान्य कार्यक्रम गरी मनाउने गरिएपनि आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले जन्मस्थलको विकास र प्रवर्द्धनमा ध्यान पुर्‍याउन सकेको छैन। भानुजन्मस्थल उपेक्षामा पर्दै जाँदा स्थानीय चिन्तित छन्। राज्यले भानुको योगदानको उपेक्षा गरेको स्थानीय ८२ वर्षीय हरिनाथ आचार्यको गुनासो छ। ‘राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मोत्सव जुन रुपमा मनाउनुपर्ने थियो पछिल्लो समय त्यो भएको देखिदैन’, भानुका पनाति समेत रहेका उनी भन्छन्, ‘जन्मोत्सव आउनु एक महिना अघिदेखि देशविदेशबाट साहित्यकारको भेला हुनुपर्ने थियो, भानुको महिमा र कथन हुनुपर्ने थियो तर त्यो हुन नसक्दा हामीलाई दुःख लाग्छ।’

केही व्यक्तिले भानु र जन्मस्थललाई कमाई खाने भाँडोको रुपमा प्रयोग गरेको उहाँको आरोप छ। ‘भानुभक्तको जन्मथलो चुँदीरम्घा जुन रुपमा बिकास हुनुपथ्र्यो त्यो भएन’, उनले भने, ‘हामी सिक्किम गयौ त्यहाँका प्रत्येक केटाकेटीले भानुको महिमा गाउँछन्, भानुभक्तीय श्लोक वाचन गर्छन तर चुँदी बत्तीमुनिको अँध्यारो जस्तै भयो। केही वर्ष अगाडिसम्म यहाँपनि भानुभक्तका रचना, श्लोक घरघरमा वाचन हुन्थे अहिलेका पुस्ताले भानुको नाम नै बिर्सिए।’

भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने भनेको सुनेको वर्षौ बितेपनि केही काम नभएको स्थानीय विष्णुकुमारी श्रेष्ठ बताउछन्। ‘संघ, प्रदेश तथा स्थानीय सरकारले आदिकवि भानुभक्तको योगदानको कदर गर्न सकेनन्’, उनले भने, ‘गण्डकी प्रदेशले पनि गत वर्षदेखि नै भानुजयन्तीको अवसरमा बिदा दिन सुरु गरेको हो। राष्ट्रिय विभूति भानुको जन्मजयन्तीमा बिदा भन्दा पनि भानुभक्तको योगदान र उहाँका रचनाको देशव्यापी रुपमा चर्चा चलाउनुपर्ने हो। एक दिन बिदा दिएर भानुकै योगदानको अवमूल्यांकन भएको हो कि जस्तो लाग्छ।’

यस्तै, शिखरकटेरी स्थित भानुको जन्मघरको भग्नावशेष मात्र बाँकी रहेको र त्यसको संरक्षणमा कसैको ध्यान नपुगेकोमा उनको दुखेसो छ। उनले भने, ‘सोही स्थानमा निर्माण गरिएको रामायण भवनको पनि संरक्षण नहुँदा निर्माण भएका संरचना भत्कने अवस्थामा पुगिसकेको छ। यसतर्फ समिति र स्थानीय कोही पनि जिम्मेवार बनेको देखिदैन।’

भानुको जन्मघरसम्म जाने बाटोको स्तरोन्नति नहुँदा पनि यसको प्रवर्द्धन हुन नसहेको उनको बुझाई छ। श्रेष्ठले भने, ‘सडकको स्तरोन्नति भए विद्यार्थीदेखि साहित्यप्रेमीहरू पनि सहजै भानुको जन्मस्थलसम्म पुगेर त्यहाँको वस्तुस्थिति अध्यापन अवलोकन गर्न सक्थे। भानुको जन्मस्थल चुँदी पनि साहित्यिक पर्यटकको चहलपहल बढ्ने थियो। तर, त्यस्तो कहिले हुन्छ ?’

केही वर्ष अगाडि हप्ता १० दिनदेखि साहित्यिक कार्यक्रम भएको सम्झदै उनले भने, ‘केही वर्ष यता त जन्मजयन्तिको दिन असार २९ गते यसो कार्यक्रम गरेजस्तो गरी कर्मकाण्ड पुरा गर्छन्। पहिला चुँदीरम्घाकी घरघरमा भानुभक्तीय रचनाका श्लोकहरू वाचन गरेको सुनिन्थ्यो अहिले त त्यो पनि एकादेशको कथा बनेको छ।’

वि.सं. १८७१ असार २९ गते पिता धनञ्जय र माता धर्मावतीदेवीको पुत्रका रुपमा जन्मिएका भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो योगदान दिएका छन्। हजारौं वर्षदेखि पूर्वीय साहित्यमा चर्चित रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भानुभक्तले भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन लगायतका क्षेत्रमा योगदान पुर्‍याएर चर्चित बने। तर, यिनै व्यक्तिको जन्मस्थल चुँदीरम्घा देश विदेशबाट साहित्यकार ल्याएर जुन हिसाबमा कार्यक्रम हुनुपर्ने हो त्यो भने हुन नसकेको स्थानीय बताउँछन्।

भारत, म्यानमार लगायतका देशहरूमा भानुभक्तको ठुलो चर्चा भएपनि उनकै जन्मस्थल चुँदीरम्घा भने बत्ती मुनिको अँध्यारो जस्तो भएकोमा स्थानीय चिन्तित छन्। यस ठाउँको प्रवर्द्धन तथा आवश्यक भौतिक पूर्वाधार निर्माण तथा संरक्षणमा नगरपालिकाले पनि उचित ध्यान दिन सकेको छैन।

आदिकवि तथा नेपालको राष्ट्रिय विभूतिबाट समेत सम्मानित भानुभक्त रामायणकै कारण विश्वभरका नेपाली भाषीमाझ लोकप्रिय छन्। यिनै नेपाली भाषा र साहित्य फाँटका उज्ज्वल नक्षेत्र आदिकवि भानुभक्त आचार्यको जन्मस्थानको विकासका लागि नेपाल सरकारद्वारा २०५२ मा गठन आदेश नै गराएर भानु जन्मस्थल विकास समिति स्थापना गरेको थियो। मुलुक संघीय संरचनामा गएपछि कुन सरकार अन्तर्गत राखिने भन्ने विवादमै रुमलिए पनि नेपाल सरकारद्वारा गठन आदेश २०७७ जारी गरी अहिले संघ सरकार मातहत आदिकवि भानुभक्त जन्मस्थल विकास समिति रहेको छ।

शिखर कटेरीमा करिव ३ करोड रुपैयाँको लागतमा निर्माण भएको रामायण भवन समिति मातहत आएपनि यसको संरक्षण भएको छैन। जङ्गलको बिचमा बनेको उक्त भवनले संरक्षण नपाउँदा बनेका संरचना भत्किने अवस्थामा पुगेको छ भने भवन वरपर झाडीले ढाकेको छ। यस्तै, भानुभक्तको जन्मघरको अहिले भग्नावशेष मात्रै बाँकी छ। वि.सं. २०५७ मा वनमा लागेको डढेलोमा परेको उक्त घर भानु जन्मस्थल विकास समितिको सहयोगमा बनाइएको थियो। तर, पुनः वि.सं २०६१ जेठमा जलेर खण्डहर बनेको छ।

भानुको जन्मघर पश्चिमाञ्चल विकास मञ्चले पुननिर्माण गर्ने भनेपनि निर्माण कार्य अगाडि बढ्न नसक्दा अब समितिले नै निर्माण गर्ने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताउनु भयो। उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा संघ सरकारसँग बजेट माग गरी उक्त घर निर्माण कार्य अगाडि बढाउने तयारीमा छौं।’

भानुभक्त र उनको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनाउन र अन्य संरचनालाई निर्माण गरी साहित्यिक पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्न राज्यले जुनरूपमा ध्यान दिनुपर्थ्यो त्यो नभएको गितल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी बताउछन्। ‘नेपाल र नेपालीलाई चिनाउन भानुले जुन योगदान दिनुभयो, त्यो योगदानको कदर गर्न सरकार तथा सरोकारवाला निकायले आवश्यक चासो देखाउन सकेका छैनन्’, उनले भने, ‘असार २९ गते मात्र भानुलाई सम्झने र कर्मकाण्डी रुपमा भानुजयन्ती मनाउनु उचित नभएको र यो कार्य भानु प्रतिकै अपमान भएको हामी साहित्यकारहरूको ठहर छ।’

भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको पुनःनिर्माणका लागि छ वर्ष अगाडि शिलान्यास गरेपनि काम अगाडि बढेको छैन। शिखर कटेरीमा भानु ग्राम बनाउन मञ्चले गुरुयोजनासमेत बनाएको थियो। गुरुयोजना अनुसार रामायण भवन निर्माण भएपनि संरक्षणविहिन अवस्थामा पुगेको छ।

राजनीतिकर्मी र भानुभक्तका सन्ततिका लागि पनि भानुको नाम भजाएर मागी खाने भाँडोमात्र बनेकाले जन्मस्थल अलपत्र भएको आरोप लाग्ने गरेको छ। भानुभक्त र उनको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनाउन र अन्य संरचना निर्माण गरी साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सरकार भानु नगरपालिकाले समेत चासो देखाएको पाइदैन।

सरकारी निकायबाट साहित्यिक क्षेत्र उपेक्षामा पर्नु तथा भानुभक्तका भक्त बन्ने कोही युवा पुस्ता नहुँदा नेपाली भाषा र साहित्यलाई उचाइमा पुर्‍याउने भानुभक्तको जन्मस्थल दयालाग्दो अवस्थामा पुगेको छ। वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको भएपनि तिनै महान व्यक्ति जन्मेको जन्मस्थल अहिले सुनसान छ। भानुजन्मस्थल चुँदीरम्घा संरक्षण र विकासको पर्खाइमा बसिरहेको छ। – INS

प्रतिक्रिया