माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावबाट पार्टी पहिलो शक्ति बन्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आज प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी पहिलो शक्ति बन्ने सम्भावना रहेको बताए ।
उनले स्थानीय तहको चुनावमा गठबन्धनको वैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने समेत बताएका छन् ।प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्ने बताए । प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। वडादेखि नै गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरुसँग गठबन्धन गर्नेमा केही छलफल हुँदैछ ।’
उनले अरू पार्टी माओवादीसँग तालमेल गर्न आउने क्रममा रहेको बताए । उनले भने, ‘हामी कसैको बैशाखी टेक्ने हैन, अरु पार्टीपनि माओवादीसँग तालमेल गर्न आउनुपर्छ । हामी ०४६ मा शान्ति सम्झौता गरेर आउँदा पनि कसैले पनि माओवादीले चुनाव जित्न भन्न सकेको स्थिति थिएन । ठूला भनेका राजनीतिक दलले त ५ सिट आउँछ होला माओवादीको भन्थे । अहिले ०७४ सम्म आइपुग्दा र अब निर्वाचनमा जाँदै गर्दा सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेका छौँ ।’

शान्ति, लोकतन्त्र र परिवर्तनको सम्वाहक माओवादी नै हो भन्ने कुरा जनताले बुझ्दै गएको पनि प्रचण्डको भनाइ छ । स्थानीय तहको निर्वाचन तोकिएको मिति वैशाख ३० मै हुने बताउँदै प्रचण्डले यसमा कसैले पनि द्विविधा पाल्न नहुने बताए । उनले निर्वाचनको प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न पनि नेता कार्यकर्तालाई बताए । प्रचण्डले गठबन्धन होला र चुनाव जितौँला भनेर बस्न नहुने भन्दै आफ्नै तागतमा चुनावमा होमिनुपर्ने पनि दोहोर्याए ।
प्रचण्डले स्थानीय सरकार बनाउने विषयमा विगतमा माओवादीकै सबैभन्दा धेरै जोडबल रहेर सफलता हासिल भएको पनि बताए । पार्टीका लागि यो चुनाव सामान्य औपचारिक चुनाव मात्र नहुने भन्दै प्रचण्डले परिवर्तनलाई उल्ट्याउने प्रयासहरु अझै पनि भइरहेको भन्दै यसका लागि पनि पार्टी चुनावबाट बलियो शक्ति हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया