शुक्रबार, जेठ ३, २०८२

पढाइ बुझ्न प्रभावकारी बन्दै मिदास ई-क्लास

केशव भट्टराई २०७८ चैत ६ गते ११:३९

काठमाडौं । नेपालमा मिदास ई-कक्षा सन् २००१ बाट सुरु भएको हो । यो बाहिरी देशबाट नक्कल गरेर नभई नेपालकै विज्ञहरूले ल्याएको धारणा हो । नेपालमा ई-शिक्षा लागु गर्न न विदेशी शिक्षाको भर पर्नुपरेको थियो, न त सरकारले यसलाई अगाडि बढाउन सहयोग गरेको छ ।

सुरुवातमा नर्सरीदेखि १० कक्षाका विद्यार्थीलाई लक्षित गरेर थालनी गरिएको ई-कक्षा आजभोलि स्नातकोत्तरसम्मको छ । तर बढीचाहिँ नर्सरीदेखि १० कक्षालाई नै केन्द्रित गरिएको छ । यो कक्षा प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ वजेदेखि ९ बजेसम्म सञ्चालन हुन्छ ।

मिदास ई-कक्षाका लागि एक हजार बढी शिक्षक छन् । अनलाइनमा बसेर विद्यार्थीहरू लाइभ पढ्ने गर्छन् । विद्यार्थीहरूले सोधेको कुनै पनि प्रश्नको शिक्षकहरूले तत्कालै जवाफ लाइभ भिडियोमार्फत दिने गर्छन् । नर्सरीदेखि मास्टर डिग्रीसम्मका विद्यार्थीले आफूलाई जुन विषयमा कमजोरी महसुस गर्छन्, त्यो सिक्न सक्छन् । पाठ्यपुस्तकका पाठहरू अडियो र भिडियो माध्यमबाट पठाउने गरिन्छ । पाठ्यसामग्रीमा मात्रै केन्द्रित नभई अतिरिक्त विषयहरू पनि पढाउने गरिएको मिदास इजुकेसन प्राइभेट लिमिटेड, थापाथली काठमाडौंका म्यानेजिङ डाइरेक्टर छत्रहरि कार्की बताउँछन् ।

ई-क्लासमा आर्ट, भायोलिन, गितार, किबोर्ड, डान्स, भोकललगातयका कक्षाहरू पनि विद्यार्थीको रुचिअनुसार सञ्चालन गर्ने गरिएको छ । यसका लागि भिडियोको व्यवस्था गरिएको र शिक्षकहरू लाइभ बसेर सिकाउने कार्कीले नेपालखोजलाई जानकारी दिएका छन् ।

हाम्रो समाजमा कुनै पनि कक्षामा उत्तीर्ण हुनु, प्रमाणपत्र लिनुलाई पढेलेखेको र जानेबुझेको मान्छे हो भन्ने गरिन्छ । विद्यार्थीहरू पनि अरू बेलाभन्दा बढी समय दिएर परीक्षमा पास हुनकै लागि मात्रै पढ्ने गर्छन् ।

सम्भावित प्रश्नहरूको महत्त्वपूर्ण पाठ विद्यार्थीहरूले परीक्षाको समयमा रटान दिएर पढ्ने गर्छन् । तर परीक्षामा केन्द्रित भएर गरिएको अध्ययन विद्यार्थीले विस्तारै बिर्सन्छन् । भविष्यमा पढेको विषय पेसासँग मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । पेसासँग नमिने जीवनमै बिर्सने हुन्छन् । परीक्षामा पास हुन रटेको पाठ बिर्सदै जाँदा व्यवहारिक जीवनमा प्रयोग नहुने हुन्छ ।

पढ्नु वा सिक्नु भनेको आफ्नो कक्षा र विषयअनुसारको पाठ बुझ्नु, त्यसबाट ज्ञान लिनु र मनन गरी व्यवहारमा उतार्नु हो भन्ने कुरा विद्यार्थी तथा अभिभावकले बुझ्नुपर्ने हुन्छ । आफूले पढेको पाठ राम्रोसँग बुझेर मनन गर्न सकिए मात्रै त्यसलाई सही किसिमले व्यवहारमा उतार्न सकिन्छ । बाल्यकालदेखि नै कुरो बुझेर पढ्यो भने परिपक्व भएपछि पढाइबाट सही किसिमले फाइदा लिन सकिनेमा दुईमतै छैन ।

मिदास एजुकेसन प्रालिले बालबालिकालाई नबिर्सने र व्यवहारिक हुने किसिमको शैक्षिक प्रविधिको विकास गरेको छ । सरकारी तथा निजी विद्यालयले परम्परागत रूपमा दिने शिक्षा व्यवहारिक हुन सकेको छैन । शिक्षालाई व्यवहारिक बनाउन नै ई-क्लास शिक्षा प्रणालीको विकास गरिएको मिदास इजुकेसनका म्यानेजिङ डाइरेक्टर कार्कीको दाबी छ ।

के हो त मिदास ई-क्लास ?
नर्सरीदेखि कक्षा १० सम्मका मुख्य विषयमा आधारित हुँदै तयार गरिएको डिजिटल शैक्षिक सामग्री नै मिदास ई-क्लास हो । ई-क्लासले विद्यालयमा भौतिक रूपमा पढाइ हुने मुख्य विषयका पाठहरूलाई भिडियो, चित्र, चित्रअनुसारको आवाज र इलुस्ट्रेसनको सहायताले राम्रोसँग बुझेर मनन गर्दै व्यवहारिक बनाउन सिकाउँछ ।

मिदास ई-क्लासमा नेपालमा निजी तथा सरकारी विद्यालयमा पढाइ हुने मुख्य विषयका किताबमा भएका सबै पाठलाई डिजिटलाइजेसन गरिएको छ । मुख्य विषयका किताबमा भएका सबै पाठहरूको भिडियो र गेम समेटिएको छ । मिदास ई-क्लासमा आजभोलि एक लाख विद्यार्थीले पढिरहेका छन् । स्थापनाको २० वर्षसम्ममा १० लाख विद्यार्थीले अध्ययन गरेका छन् । एक हजार बढी शिक्षकले ई-क्लासमा पढाइरहेको तथ्यांक छ ।

नेपालका निजी र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका लागि कम्प्युटर, ल्यापटप, ट्याबलेट वा स्मार्ट फोन उपयुक्त माध्यम हुन् । विद्यार्थीहरूले रमाउँदै हेर्न, पढ्न र खेल्न सक्ने शैक्षिक सामग्री नै मिदास ई-क्लास विद्यार्थी संस्करण हो । यता शिक्षकहरूले विद्यार्थीहरूलाई पाठअनुसारका भिडियोहरू देखाउँदै बुझाएर पढाउने र सिकाउने शैक्षिक सामग्री पनि मिदास ई-क्लास विद्यालय संस्करण हो ।

पढ्नु भनेको जाँच पास गर्नु र प्रमाणपत्र लिनु मात्रै होइन, बरु आफ्नो कक्षा र विषयअनुसारको पाठ बुझ्नु, त्यसबाट ज्ञान लिनु र मनन गरी व्यवहारमा उतार्नु पनि हो । आफूले पढेको पाठ राम्रोसँंग बुझेर मनन नगरिएसम्म त्यसलाई व्यवहारमा उतार्न गाह्रो हुन्छ । पाठ राम्रोसँग बुझेर मनन गरे, त्यसले जीवनभरि नै काम दिन्छ । बालबालिकाले सानै उमेरदेखि बुझेर पढ्ने र मनन गर्ने बानीको विकास गरेमात्र ठूलो भएपछि पढाइको उचित उपयोग गर्न सक्छन् । मिदास ई-क्लासले बालबालिकालाई कक्षानुसारको विषयमा भएका पाठलाई राम्रोसँग बुझेर मनन गर्न मद्दत गर्ने मिदास इजुकेसनका म्यानेजिङ डाइरेक्टर कार्की दाबी गर्छन् ।

प्रविधिको विकाससँगै आजभोलिका बालबालिका पनि स्मार्ट हुँदै गएका छन् । उनीहरू टीभीमा कार्टुन हेर्नुका साथै कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनमा भिडियो हेर्न र गेम खेल्न रुचाउँछन् । बालबालिकाको जीवनशैली नै आजभोलि डिजिटल सामग्रीसँग बढी केन्द्रित भएको सर्वविदितै छ । प्रविधिसँग भुल्ने वालबालिकाको शैलीलाई परिवर्तन गर्न साँच्चै गाह्रो हुन्छ । मिदास ई-क्लास प्राइभेट लिमिटेडले यो सपना पूरा गर्दै छ ।

आधुनिक प्रविधियुक्त जीवनशैलीअनुसारकै पढ्ने सामग्री विद्यार्थीलाई उपलब्ध गराइए अभिभावक तथा शिक्षकहरूको बुद्धिमानी हुने मिदास ई-क्लासका सञ्चालक तथा शिक्षकहरूको दाबी छ । वास्तवमा उत्तर आधुनिक युगमा प्रवेश गरेका बालबालिकाको जीवनशैलीलाई ध्यान दिँदै पढाइमा रुचि जगाउने उद्देश्यले तयार पारिएको डिजिटाइजेसन पाठ्यसामग्री नै मिदास ई-क्लास हो ।

सिक्ने उमेरका बालबालिकालाई पुस्तक वा पुस्तकमा भएका चित्र र अक्षरले मात्रै पठनपाठनमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । तर मिदास ई-क्लासमा भएका भिडियो, चित्र र चित्रअनुसारको आवाजमा भने ध्यान बढी केन्द्रित हुने भएकाले पढ्न तथा सिक्न सजिलो महसुस हुने कार्कीको भनाइ छ ।

बालबालिकालाई सानै उमेरदेखि सही उच्चारण गर्न सिकाइनुपर्छ । त्यो उनीहरूले पछिको पुस्तालाई पनि हस्तान्तरण गर्छन् । मिदास ई-क्लासमा बालबालिकाहरूलाई शब्द र वाक्यहरूको सही उच्चारण गर्न सिकाइन्छ । उनीहरूले भिडियो वा अडियोमा सुनेका कुराहरूको सही उच्चारण गर्न सक्छन् ।

मिदास ई-क्लासमा श्रव्य-दृश्य पाठ्यसामग्री प्रयोग गरी पढ्दा बालबालिकाले अप्ठ्यारा पाठहरू पनि सजिलै बुझ्छन् । सिकाइ पनि दीर्घकालीन हुन्छ । बालबालिकाले पढ्नुपर्ने हरेक पाठहरू भिडियो, इलुस्ट्रेसन, चित्र र चित्रअनुसारको आवाज प्रयोग गरी विस्तृतमा बुझाइने हुँदा विद्यार्थीले आफूले सुनेको र हेरेको विषय सजिलै बुझ्न सक्छन् ।

विद्यार्थीले पढ्नुपर्ने प्रत्येक पाठलाई एनिमेसन प्रयोग गरेर देखाइने भएकाले बुझ्न अझ सहयोगी हुन्छ । अझ खेल्दै सिक्दा बुझ्न अझ सहज हुने शिक्षकहरू विश्वास गर्छन् ।

सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक-शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई-क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास जान्छ ।

मिदास ई-क्लास पढाउनका लागि विभिन्न विषयगत शिक्षकहरू खटिएका छन् । यस्तै फिजिक्समा एमएमसी गरेका क्षितिज लामिछानेले विज्ञान विषय पढाउँछन् । विद्यार्थीहरूलाई सीधा भिडियो र अडियोबाट पढाउँदा बुझ्न सजिलो भएको उनको दाबी छ ।

यस्तै दूरदराज तथा ग्रामीण भेकमा बस्नेहरूलाई पनि सहयोगी हुने उनको विश्वास छ । सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापकहरूले पनि ई-क्लास लिएपछि कमजोर विद्यार्थीको पढाइ सुधार भएको प्रतिक्रिया दिएको लामिछाने बताउँछन् ।

ट्युसन र कोचिङ नै पढ्नुपर्ने कमजोर विद्यार्थीका लागि पनि ई-क्लास अत्यन्तै उपयोगी भएको उनी बताउँछन् । आफू कुन लेभलमा छु भनेर विद्यार्थी सेल्फ एसेसमेन्ट गर्न पाउँछन् । एनिमेटेड भिडियोको माध्यमबाट साइन्स विषयमा भएका पाठहरू विद्यार्थीले सजिलै बुझिरहेको उनी बताउँछन् ।

सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापकहरू ई-क्लासको माध्यमबाट कक्षामा कमजोर विद्यार्थीहरूलाई बुझ्न सहज भएको दाबी गर्छन् । सधैं काम नम्बर ल्याउने विद्यार्थीहरूले ई-क्लास लिएपछि राम्रो नतिजा ल्याउन सफल भएको उनीहरू बताउँछन् ।

मिदास ई-क्लास आधिकारिक वेबसाइट मिदासक्लास डटकम वा प्ले स्टोरबाट डाउनलोड गर्न पनि सकिन्छ । मिदास ई-क्लास कम्प्युटर, ल्यापटप, ट्याबलेट वा स्मार्ट फोनमा रजिस्टर गरेर प्रयोग गर्न सकिन्छ ।

विद्यार्थी वा अभिभावकलाई प्रयोग गर्न कुनै कठिनाइ हुँदैन । कुनै समस्या भएमा मिदास एजुकेसनको कार्यालयमा सम्पर्क गरेर सहयोग लिन सकिने यसका सञ्चालक तथा शिक्षकहरूको भनाइ छ ।

मिदास ई-जुकेसन लिमिटेडका म्यानेजिङ डाइरेक्टर छत्रहरि कार्कीका अनुसार पछिल्लो समय अनलाइनमार्फत पढाइने पठनपाठनको सुविधा निम्नबमोजिम छ :
१) नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको पढाइसँग सम्बन्धित सबै समाधानहरू मिदास ई-क्लासमा छ ।
२) भिडियो हेर्दै बुझेर पढ्न मद्दत गर्न हरेक पाठको एनिमेटेड भिडियो उपलब्ध छ ।
३) गेम खेल्दै रमाइलोसँग पढ्न पाठमा आधारित क्विजेज र गेम्स उपलब्ध छ ।
४) साना नानीबाबुहरूका लागि गीत गाउँदै सिक्न राइम्स उपलब्ध छ ।
५) कक्षामा नबुझेको कुरा बुझाउन अनलाइन ट्युसन क्लास हरेक दिन बेलुका ६ देखि ८ बजेसम्म सञ्चालन हुन्छ ।
६). होमवर्क गर्न नजानेमा सिकाउन ‘अनलाइन होमवर्क हेल्प’ हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका बेलुका ५ बजे देखि ९ बजेसम्म उपलब्ध छ ।
७) पढ्दा केही नबुझेमा वा केही जिज्ञासा भएमा बुझाउन ‘अनलाइन टिचर हेल्प’ हरेक दिन बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका बेलुका ५ बजेदेखि ९ बजेसम्म उपलब्ध छ ।
८) परीक्षामा सोध्न सकिने प्रश्न र तिनका उत्तरहरू थाहा पाउन प्रश्न र उत्तर उपलब्ध छ ।
९) देशभरका विद्यार्थीले सोधेका प्रश्नहरू र तिनका उत्तरहरूको संकलन ‘यू आस्क वी एन्सर’ मा उपलब्ध छ ।
१०) पढेको कुरा आफूले कति जानियो आफैं थाहा पाउन सेल्फ एसेसमेन्ट उपलब्ध छ ।
११) परिक्षाको तयारी गर्न मद्दत गर्न अनलाइन एक्जाम प्रिपेरेसन क्लास नियमित सञ्चालन हुन्छ ।
१२) परीक्षाको तयारी कस्तो छ थाहा पाउन मोक एक्जमा नियमित सञ्चालन हुन्छ ।
१३) आफूलाई मन लागेको कुरा सिक्न हब्बी क्लब छ जहाँ आर्ट क्लास र किबोर्ड क्लास नियमित सञ्चालन हुन्छ ।
१४) राष्ट्रिय स्तरमा साइन्स, म्याथ, आईटी, अंग्रेजी र नेपाली विषयमा प्रतिस्पर्धा गर्न ओलिम्पियाड्स सञ्चालन हुन्छ ।
१५). राष्ट्रिय स्तरमा चित्रकला, कथा, कविता वा गित लेखनमा प्रतिस्पर्धा गर्न पाइन्छ ।
१६) उमेरअनुसार थाहा पाउन आवश्यक रोचक कुराहरू इन्टेरेस्टिङ फ्याक्ट्समा उपलब्ध छ ।
१७) इच्छाअनुसारको कौशल विकास गर्न स्किल ल्याब उपलब्ध छ ।
१८) सिकेको कुरा दैनिक जीवनमा लागु गर्न इन्टेलेक्चुअल थिएटर उपलब्ध छ ।
१९) आफ्ना सिर्जनाहरू जस्तै- चित्रकला, कथा, कविता वा गीत प्रकाशन गर्न क्रिएसन उपलब्ध छ ।

मिदास ई-क्लासको नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाहरूका लागि किन महत्त्व छ त ?
विद्यार्थीले मोबाइल वा कम्प्युटरमा ई-क्लास प्रयोग गरेर पाठमा आधारित एनिमेटेड भिडियोहरू हेर्दै बुझेर पढ्न पाउँछन् । यस्तै पाठ नबुझेमा वा होमवर्क गर्न नजानेमा घरबाटै शिक्षकसँग सोध्दै सिक्न पाउँछन् ।

ट्युटोरियल भिडियोहरू हेर्दै उत्तर लेख्ने तरिका र न्युमेरिकल समस्या समाधान गर्ने तरिका सिक्न पाउँछन् । यस्तै पाठमा आधारित गेम र क्विजमा रमाउँदै सिक्न पाउँछन् । स्याम्पल एक्जामका प्रश्न-उत्तरहरू अभ्यास गरेर परीक्षाको तयारी राम्रोसँग गर्न पाउँछन् । यस्तै आफूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गर्न पाउँछन् ।

बालबालिकाले आफ्ना साथीहरूसँग पाठमा आधारित खेल र क्विजमा प्रतिस्पर्धा गर्न पाउँछन् । विद्यार्थीले जति धेरै पढ्छन् त्यति धेरै प्वाइन्ट कमाउँछन् । त्यो प्वाइन्ट प्रयोग गरेर उपहार किन्न पाउँछन् । आफ्नो विद्यालय, जिल्ला वा देशमा उत्कृष्ट भएमा थप उपहारहरू पाउँछन् ।

अनुभवी शिक्षकहरूले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू उपलब्ध गराइन्छ । यी भिडियोहरू विद्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेर्दै आफ्नो पाठ सिक्न सक्छन् ।

मिदास ई-क्लासमा पाठमा आधारित हजारौं क्विज र गेमहरू राखिएको हुन्छ । ती क्विज र गेमहरूमा रमाउँदै खेलेर पनि विद्यार्थीले आफ्नो पाठ सजिलै सिक्छन् । पाठमा आधारित क्विज र गेमहरूले विद्यार्थीको सिकाइमा रूचि पनि बढाउँछ ।

जब विद्यार्थीहरू घरमा पढ्न बस्छन्, तब उनीहरूले केही नबुझेमा वा नजानेमा मिदास ई-क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन् । सयौं अनुभवी शिक्षक उपलब्ध छन् । शिक्षकहरूले विद्यार्थीहरूलाई घरमै पुगेर सिकाएझैं सिकाउने गर्छन् ।

विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर राखिएको हुन्छ । विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन् । आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन् ।

अभिभावकहरूले पनि मिदास ई-क्लासबाट प्रश्नपत्र निकालेर आफ्ना नानीबाबुहरूलाई नमुना परीक्षा गराउन सक्छन् । नानीबाबुहरूले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्छन् ।

मिदास ई-क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ ।

मिदास ई-क्लास प्रभावकारी हुनका प्रमुख तीन कुरा
मिदासका म्यानेजिङ डाइरेक्टर कार्कीका अनुसार ई-क्लास प्रभावकारी हुनुमा प्रमुख तीन कारण छन् । यो क्लासमा विद्यार्थीलाई पढ्नका लागि रुचिअनुसार कन्टेन्टहरू दिइन्छ । उनीहरूलाई रुचि जगाउन सबै विषयवस्तुतको भिजुअल बनाइएको हुन्छ । यस्तै विद्यार्थीलाई पुरस्कारको व्यवस्था पनि गरिन्छ ।

कार्की भन्छन्, ‘जति बढी पढ्छन्, त्यति बढी प्वाइन्ट र गिफ्ट पाउँछन्, यसले गर्दा विद्यार्थीमा पढ्ने रुचि जागेर आउँछ ।’ एकातिर बालबालिकालाई पढाइमा रुचि जगाउन पाठ्यक्रमको अडियो-भिडियो बनाइएको हुन्छ भने अर्कातिर प्वाइन्टअनुसारको पुरस्कारको व्यवस्था छ ।

ई-क्लास पढ्दा विद्यार्थीलाई जे आउँदैन, शिक्षकहरू अनलाइनमाध्यमबाटै सिकाउन सधैं उपलब्ध हुने गर्छन् । सधैं सिकाउन तत्पर भएकाले पनि बालबालिकामा सिक्नलाई हिम्मत आउने गर्छ ।

मिदास ई-क्लास एक निजी स्तरबाट सञ्चालित अनलाइन शिक्षा पद्धति हो । सरकारबाट यस कक्षा सञ्चालन गर्नका लागि कुनै पनि सहयोग छैन । वास्तवमा मिदास ई-क्लास सिक्न चाहने, पढ्न चाहने विद्यार्थीका लागि धेरै प्रभावकारी छ । यस्तै पढेको कुरा व्यवहारिक जीवनमा लागु गर्न मनैदेखि सोच बनाउने भएकाले यो कक्षा नेपालमा प्रभावकारी मानिएको छ ।

सहरका दक्ष र प्रतिष्ठित शिक्षकहरूमार्फत ग्रामीण क्षेत्रका विद्यार्थीलाई सुपथ मूल्यमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले मिदास ई-क्लासको अवधारणा ल्याइएको हो । यो पछिल्लो समयमा प्रभावकारी हुँदै गएको छ ।

प्रतिक्रिया