शुक्रबार, जेठ ११, २०८१

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

नेपालखोज २०७८ चैत ६ गते १०:३८

काठमाडौं । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्ष माथिको कूल जनसंख्या मध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिड विरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।

यस्तै पूर्ण मात्रा खोप लगाउनेको संख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसंख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्ष मुनि पूर्ण मात्रा खोप लगाउनेको संख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।

मन्त्रालयका अनुसार यही चैत ४ गते सम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जस मध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो । नेपाल सरकारले भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ । केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।

नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड संक्रमित रहेका छन् । कोभिड संक्रमण सुरु भए देखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यस मध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिड लाई पराजित गरेका छन् । यस संक्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसंख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ । १८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब नौ प्रतिशत जनसंख्यामा मात्र बाँकी छ ।

प्रतिक्रिया