विधानको पूर्ण कार्यान्वयन गर्न नेविसंघको दबाब

नेपालखोज २०७८ चैत ६ गते १६:००

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्नेलगायतका माग पूरा गर्न पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्व केन्द्रीय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणको लागि आज बलियो नेविसंघ निर्माण गर्न आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेर समूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यकता भएको बताउँदै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन, सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधान बमोजिम तदर्थ समिति गठन गर्न उनले माग गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जनाएका छन् । उनले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भातृ संगठनले स्वीकार्ने विश्वास लिएको पनि बताए ।

नेविसंघ संघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग समेत गरेको छ ।

प्रतिक्रिया