नेम्वाङले झलनाथलाई सम्झिँदै भने- मैलै नामचाहिँ बिर्सें

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । इलाम क्षेत्र नम्बर १ अन्तर्गत फिक्कलमा आयोजित जनसभामा नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।
पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने बताएका थिए । पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेम्वाङले भने, ‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला ? केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला ? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’
फिक्कलमा उर्लिएको जनसागरले खनाल छक्क परिरहेका होलान् भन्दै नेम्वाङले कटाक्ष गरे । उनले भने, ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई-मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू। मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड अन्तरे हो कि जन्तरे हो नाम चाहिँ थाहा छैन ।’

एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो । जहाँ आज एमालेले कार्यक्रम गरेको थियो । यसअघि पनि खनालले ओली आफ्नो निर्वाचन क्षेत्रमा पैसाको बोरा बोकेर जान लागेको आरोप लगाएका थिए । उनले ओलीहरुले पैसा दिएर भोट किन्न लागेको आरोप लगाएका थिए । उनले आफूसँग पैसा नभएको तर ओलीसँग सबैतीर बाँड्ने पैसा रहेको समेत खनालले आरोप लगाएका थिए ।
एमालेले कार्यक्रम गरेको क्षेत्रका संघीय सांसद झलनाथ हुन् । पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेर खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन् । हाल एकीकृत समाजवादीमा छन् ।

प्रतिक्रिया