बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजतपत्रको नवीकरण अब डिजिटलबाटै

काठमाडौं । बिमा समितिले बिमा सर्भेयर र बिमाअभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सुरु गरेको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज (मंगलबार) ललितपुरको कुपन्डोलस्थित समितिको कार्यालयमा बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरेका हुुन् ।
सो अवसरमा अध्यक्ष सिलवालले देशका विभिन्न स्थानमा रहेका बिमा सर्भेयर र बिमा अभिकर्ताले अब आफू रहेकै स्थानबाट डिजिटल माध्यमबाट आफ्नो इजाजतपत्रको नवीकरण गर्न पाउने अवसर उपलब्ध भएको बताए । अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका झण्डै तीन लाखको संख्यामा रहेका बिमा अभिकर्ताले डिजिटल माध्यमबाट नै इजाजतपत्र नवीकरण गर्न पाउने भएबाट बिमाको पहुँच विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरू सुशीलदेव सुवेदी र दिनेशकुमार लाल उपस्थित थिए । कार्यक्रममा समितिका निर्देशक कमलप्रसाद रेग्मीले इजाजतपत्रको डिजिटल नवीकरणका बारेमा चर्चा गरेका थिए भने कार्यक्रम सञ्चालन समितिका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले गरेका थिए ।
नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतीप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को कनेक्ट आईपिएस मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तुर बिमा समितिको खातामा बुझाएर बिमा सर्भेयर र बिमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यसका लागि बिमा सर्भेयर र बिमा अभिकर्ताले कनेक्ट आईपिएसको साइटमा गएर सेमी गभर्मेन्टमा रहेको बिमा समितिको लोगोमा क्लिक गरेपछि देखिने बिमा सर्भेयर र बिमा अभिकर्ता पेमेन्टमा गएर इजाजतपत्र नम्बर र जारी मिति टाइप गरेपछि नवीकरणका लागि लाग्ने शुल्कको जानकारी सिस्टममा ले नै क्याल्कुलेट गरेर दिन्छ । तत्पश्चात् अनलाइनबाटै नवीकरण शुल्क बुझाउन सकिन्छ र त्यसरी बुझाएको रकमको रसिद पिडिएफ फम्र्याटमा प्रिन्ट गर्न सकिनेछ ।
संस्थागत बिमा सर्भेयरले कनेक्ट आईपिएस मार्फत बिमा समितिको खातामा इजाजतपत्रको नवीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि बिमा सर्भेयर इजाजतपत्र नवीकरण हुने व्यवस्था छ । व्यक्तिगत बिमा सर्भेयरले भने कनेक्ट आईपिएस मार्फत नवीकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नवीकरण हुनेछ ।
यसैगरी, संस्थागत बिमा अभिकर्ताले पनि कनेक्ट आईपिएस मार्फत बिमा समितिको खातामा इजाजतपत्रको नवीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिएको छ । व्यक्तिगत बिमा अभिकर्ताको हकमा भने त्यसरी अनलाइनबाट नवीकरण शुल्क बुझाउनुका साथै कामको विवरण पठाउनु पर्दछ । त्यसरी पठाइएका विवरण सम्बन्धित बिमा कम्पनीको सिस्टमा जान्छ र त्यहाँबाट अनलाइन प्रणालीबाटै सिफारिस भएर आएपछि सम्वन्धित बिमा अभिकर्ताको इजाजतपत्र बिमा समितिबाट नवीकरण हुने व्यवस्था गरिएको छ ।
नवीकरण भएको इजाजतपत्रका बारेमा सम्बन्धित बिमा सर्भेयर र बिमा अभिकर्ताले बिमा समितिको वेबसाइटमा गएर आफ्नो इजाजतपत्रको नम्बर र जारी मिति टाइप गरेपछि जानकारी प्राप्त गर्न सक्ने छन् । अनलाइन प्रणालीमार्फत बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको सुरुवात भएसँगै इजाजतपत्र नवीकरणका लागि बिमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बिमा सर्भेयर र बिमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाट नै इजाजतपत्र नवीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् ।
हाल देशभरमा गरी नवीकरण योग्य बिमा सर्भेयरको संख्या करिब एक हजार दुई सय ५० र बिमा अभिकर्ताको संख्या करिव तीन लाख रहेको छ ।
यसरी गर्न सकिने छ, बिमा सर्भेयर र बिमा अभिकर्ताहरूले डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरण
१ कनेक्ट आईपिएस लग इन गर्ने
२ पेमेन्ट ट्यावको सेमिगर्भरमेन्ट ट्यावमा क्लिक गर्ने
३ बिमा समितीको लोगा भएको ट्यावमा क्लिक गर्ने
४ एजेन्ट वा सर्भेयर कुन हो सो ट्यावमा क्लिन गर्ने
५ अन्य मागेका आफ्ना विवरणहरू सबमिट गर्ने








प्रतिक्रिया