अब विदेश नजाऔं : केपी ओली

नेपालखोज २०७८ चैत ८ गते १६:४०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको विकासमा सही बाटो देखाउने नेता र पार्टी अरू असफल भएकाले अब एमालेको काँधमा मधेसको जिम्मेवारी आएको बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तराईको विकासमा आफूले सरकारमा रहँदा विशेष ध्यान दिएको उनले बताए ।

शिक्षा, स्वास्थ्य, बाटो लगायतका विषयमा आफूले प्रशस्त काम गरेको उनको भनाइ छ । मधेसका नेताहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले मधेसको विकासका लागि गरेका र अघि सारेका योजनाहरू बताए । ओलीले हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति,पूर्व पश्चिम राजमार्गको विस्तार,सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत आफूले गरेको भन्दै गठबन्धन सरकार आएपछि मधेसको विकास रोकिएको बताए ।

ओलीले तराई ठगी खाने भाँडो भएको आरोप लगाएका छन् । उनले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने काम गरेको बताए । उनले भने, ‘द्वन्द्व उद्योग स्थापना गरियो नेपालमा, त्यसलाई एमालेले प्रतिवाद गर्‍यो । सिङो देश हाम्रो हो, हामीले हाम्रो देशको उन्नति गर्न पाउनुपर्छ भन्ने एमालेको मान्यता रहेको छ ।’

उनले देशमा काम गर्ने मान्छे नपाएको अवस्थामा युवाहरु विदेशिएको भन्दै युवालाई स्वदेशमै बस्न आग्रह गरे । उनले भने, ‘विदेश जाने होइन, देशकै विकासको काम गर्न युवालाई प्रोत्साहित गर्नुपर्छ । स्वदेशमै बसौं, स्वदेशकै विकास गरौं । स्वदेशलाई नै समृद्ध बनाऔं । अब विदेश नजाऔं ।’

ओलीले एमालेमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने भन्दै नवप्रवेशी सबैलाई उचित जिम्मेवारी दिइने बताए । परमादेशबाट एमालेलाई सरकार बाहिर लगिए पनि जनादेशबाट एमाले बहुमतसहित फर्किने दाबी ओलीको थियो । ओलीले भने, ‘यहाँ शिव पटेलजीले एमाले प्रवेश गर्दै जय मधेस भन्ने बानी छ भन्नुभयो । अब जय मधेस भन्ने नै एमालेले हो । मधेसको जय गर्ने एमालेले हो । जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ, ढुक्क हुनुस् अब जय मधेस । मधेसले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ ।’

अध्यक्ष ओलीले केही समय एमालेलाई मधेस विरोधी भनेर भ्रम छरिए पनि भ्रम टुटेर मधेसबाट एमाले प्रवेशको लहर चलेको बताए । प्रभावशाली राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरू एमाले प्रवेश गरिरहेका बेला ओलीले अब मधेसको नेतृत्व एमालेले गर्ने बताए ।

प्रतिक्रिया