शुक्रबार, जेठ ११, २०८१

उच्चशिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउनुपर्छ : थापा

नेपालखोज २०७८ चैत ९ गते १४:०६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उच्चशिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् । कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनमा बुधबार उनले यस्ताे बताएका हुन् ।

नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै उनले उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताए । थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के-के हुने भन्ने विषयमा छलफल हुनुपर्ने बताए ।

विगतमा आफ्नो पार्टी प्रतिपक्षमा हुँदा पनि आफूले शिक्षा तथा स्वास्थ्य समितिमा र प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पटक-पटक यस विषयमा कुरा राखे पनि सुनुवाइ नभएको बताए । वर्तमान सरकार बनिसकेपछि पनि निरन्तरको संसद अवरोधका कारण यस विषय प्राथमिकतामा पर्न नसकेको उनले उल्लेख गरे ।

उनले नेपालको उच्च शिक्षालाई कता तर्फ लैजाने भन्ने विषयमा मुलुकको जेठो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयले नै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने र विश्वविद्यालयमा जिम्मेवारीमा रहनु हुने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेका काम गर्नु नहुने उनले स्पस्ट पारे ।

प्रतिक्रिया