आफ्नो क्रान्तिकारी विरासत समाप्त पार्ने ध्वंसात्मक निर्णय गरेर चुनावमा जाँदैनाैं : विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा सहभागी नहुने भएको छ । संसदीय व्यवस्था र संविधान स्वीकार गरी दल दर्ता गराएर चुनावमा सामेल हुने कल्पना पनि गर्न नहुने भनेको छ ।
कपिलवस्तुमा विप्लवको दलको बैठक चलिरहँदा उक्त दलको मुखपात्र ईरातोखबरले सम्पादकीयमार्फत् चुनावमा सामेल नहुने स्पष्ट पारेको हो । सम्पादकीयमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी देश, जनता र क्रान्तिको भविष्य खाडलमा हालेर यो असफल र बदनाम संसदीय व्यवस्था र त्यसको संविधान स्वीकार गरी दल दर्ता गराएर संसदीय व्यवस्थामै विलय हुने गरी चुनावमा सामेल हुन्छ र आफ्नो क्रान्तिकारी विरासत समाप्त पार्ने ध्वंसात्मक निर्णय गरेर फर्कन्छ भन्ने कल्पना पनि नगर्नु राम्रो हुन्छ ।’
यद्यपि, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र चुनावमा जाने विषय उठेको स्वीकारिएको छ । उक्त दलको बैठक चलिरहँदा चुनावमा सहभागी हुने विषय उठेको चर्चा चलिरहँदा सम्पादकीयमार्फत् आधिकारिक धारणा आएको छ । यसअघि विप्लवले रातोखबरमा लेखमार्फत् सशस्त्र क्रान्ति गर्ने लेखेका थिए । उनले सशस्त्र क्रान्तिको आवश्यकता रहेको भन्दै प्रचण्ड र बाबुराम भट्टराईको जीवनकालमा सशस्त्र क्रान्ति गरेर देखाउन उल्लेख गरेका थिए ।
चुनाव जाने वा नजाने दुई धार पार्टीमा रहेको समाचारहरु बाहिर आउने गरेका थिए । तर यो सम्पाकीय लेखिएपछि भने चुनावमा नजाने स्पष्ट भएको हो ।

प्रतिक्रिया