विश्व मौसम दिवसमा विज्ञहरुले के भने ?

नेपालखोज २०७८ चैत ९ गते १९:२९

काठमाडौं । आज विश्व मौसम दिवस । ‘पूर्व सूचना र पूर्व तयारी’ भन्ने नाराका साथ बुधवार नेपालमा पनि यो दिवस मनाइएको छ । प्रत्येक वर्ष मार्च २३ तारिकका दिन मनाईने यो दिवस विश्व मौसम संगठनको स्थापना दिवसको अवसर पारेर सन् १९५० देखि मनाउन थालिएको हो ।

मौसम दिवस मनाउन थालेको ७० वर्ष पुगिसक्दा पनि नेपालमा अझै मौसमजन्य प्रकोपको पूर्व सूचना प्रणाली बलियो हुन सकेको छैन । नेपाल लगायत विश्वभर नै जलवायुजन्य विपद्का घटनाहरु बढीरहेका छन् । प्रत्येक दिन १ सय १५ जनाले जलवायुजन्य विपद्बाट ज्यान गुमाइरहेका छन् । विगत ५० वर्षमा विश्वभरका २० लाख मानिसले जलवायुजन्य विपद्का कारण ज्यान गुमाएको तथ्यांक छ ।

मौसमजन्य प्रकोपबाट जनधनको सुरक्षाका लागि पूर्वसूचना प्रणाली नै महत्वपूर्ण हुने यस क्षेत्रका जानकारहरु बताउँछन् । तर नेपाल सरकारले अझै पनि बाढीको पूर्वसूचना बाहेक अन्य बहुप्रकोपिय प्रकोपको पूर्वसूचना प्रणालीको स्थापना गर्न सकेको छैन । त्यसैगरी अन्तरदेशीय पूर्वसूचना प्रणालीका लागि पनि पहल गरेको देखिँदैन ।

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद्विज्ञ डा. धर्मराज उप्रेतीले मानवजीवन बचाई भौतिक सम्पतिको संरक्षणका लागि पूर्वसूचना प्रणाली महत्वपूर्ण रहेकाले सरकार र निजी क्षेत्र मिलेर त्यसमा काम गर्नुपर्ने बताए । उनले पछिल्लो समय जलवायु जन्य प्रकोपका घटना विश्वभर नै बढ्दै गएकाले प्रकोपको प्रभावजन्य पूर्वसूचना प्रणालीमा लगानी गर्नुपर्ने आवश्यकता बताए ।

विपद्विज्ञ डाक्टर गंगालाल तुलाधरले मौसमजन्य विपद्को पूर्व तयारीका लागि पूर्वसूचना नै महत्वपूर्ण भएकाले पूर्वसूचना प्रणालीलाई व्यवस्थित र मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याका छन् । उनले पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति हुनबाट जोगाउने मुख्य दायित्व सरकारको भएकाले समयमै त्यसतर्फ ध्यान जानुपर्ने आवश्यकता बताए । उनले मौसमजन्य प्रकोपको पूर्वसूचना प्राप्त गर्ने सन्दर्भमा सरकारले अन्तरदेशीय सूचना आदान प्रदानका लागि कुटनीतिक पहल गर्न नसकेको टिप्पणी गरे । उनले सरकारका निकायहरुले सबैलाई सूचनाको पहुँच पुर्‍याउने वातावरण सिर्जना नगरेको आरोप पनि लगाए ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षदेखि बाढीजन्य प्रकोपका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले निकै राम्रो काम गरेको भएपनि अन्य बहुप्रकोपीय विपदबारे पूर्वसूचना प्रणालीको व्यवस्था गर्न नसकिएको स्वीकार गरे । उनले बाढीको पूर्वसूचना प्रणालीमा प्राप्त गरेको अनुभवका आधारमा अन्य बहुप्रकोपीय विपदको पूर्वसूचना प्रणाली स्थापना गर्ने गरि तयारी भईरहेको जानकारी दिए ।

प्रतिक्रिया