को बन्ला राष्ट्रिय व्यवसायी महासंघको नयाँ अध्यक्ष ?

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायीको आसन्न महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चुन्ने अध्यक्ष नरेश कटुवालले बताएका छन् । महाधिवेशनबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कटुवालले यस्तो बताएका हुन् ।
आगामी नेतृत्व कसले लिन्छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विषयमा छलफल चलिरहेको बताए । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष कुमार कार्की छन् । अन्य पदाधिकारीहरु पनि सहमतिबाटै चुन्ने गरी छलफल भइरहेको उनको भनाइ छ । महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी २२ गते गर्दैछ ।
बानेश्वरको एभरेष्ट होटल काठमाडौंमा हुने समारोहको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको महासंघले बताएको छ । उनका अनुसार समारोहमा उपराष्ट्रपति पुनसँगै अर्थमन्त्री जनार्दन शर्मालगायत उच्च सरकारी अधिकारीहरुलाई समेत उपस्थितिका लाति निम्ता पठाइएको छ । महासंघले आफ्ना पुराना मागहरु पुरा गर्नसमेत पत्रकार सम्मेलनमार्फत ध्यानाकर्षण गराएको छ ।
पछिल्लो समय बैंकहरुले अस्वभाविकरुपले बढाएको ब्याजले उद्योगी व्यवसायीहरुको ढाड सेकिएको छ र महंगी बढाएर आम उपभोक्ता सर्वसाधारणहरुमा नकरात्मक असर परेको भन्दै यसतर्फ सोच्न महासंघले सरकारसँग अनुरोध गरेको छ ।
महासंघले उठाएका मागहरुः
१. उद्योगका लागि चाहिने दक्ष जनशक्ति तयार गर्न सरकारले तालिम केन्द्रको स्थापना गर्नुपर्ने ।
२. अहिले धेरै जस्तो कच्चा पदार्थहरुमा हामी परनिर्भर छौं । कच्चा पदार्थको परनिर्भरता हटाउनका लागि राज्य स्तरबाट खोज अनुसनधान गर्नुपर्ने ।
३. वैज्ञानिक घरभाडा लागु गर्नुपर्ने ।
४. काठमाडौं उपत्यका लगायतका सहरहरुमा फुटपाथको सहि व्यवस्थापन हुनुपर्ने ।
५. हरेक भन्सार नाकाहरुमा व्यवसायीहरुको सहज पहुँचको व्यवस्था गर्नुपर्ने ।
६. हामीले उठाउदै आएको ७५३ वटै स्थानीय तहहरुमा औद्योगिक ग्रामको स्थापनाको एजेण्डालाई सरकारले बजेटमा नै समावेश गरे पनि व्यवहारमा लागू हुन सकेको छैन । चाडै सबै स्थानीय तहहरुमा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने ।
७. उद्योग व्यवसायको क्षमता र प्रकृति हेरेर उद्योगी व्यवसायीहरुको लागि बिना धितो ऋणको व्यवस्था गर्नुपर्ने ।
८. अर्थतन्त्रमा देखिने समस्या समाधान गर्नका लागि सरकार र निजी क्षेत्रबीच समन्वय समिति गठन गर्नुपर्ने ।
९. साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई नीति निर्माण तहमा सहज पुहँच बनाउनुपर्ने ।
१०. वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउन विशेष नीित लिइनुपर्ने ।
११. स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुका लागि बजार व्यवस्थापनका लागि आवश्यक पहल कदमी लिइनु पर्ने ।
१२. निजी क्षेत्रलाई असर गर्ने जुनसुकै निर्णय लिदा निजी क्षेत्रसँग परामर्श गर्नुपर्ने ।









प्रतिक्रिया