आइतबार, पुष ६, २०८२

‘लगानी अभिवृद्धि, सहज विद्युत् व्यापार र व्यापार घाटा न्यूनीकरणमा प्रभावकारी काम गर्नुहोस्’

नेपालखोज २०७८ चैत १० गते १४:३४

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, दुई देशबीच सहज विद्युत् व्यापार, पर्यटन प्रवर्द्धन र व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा प्रभावकारी काम अघि बढाउन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । दुई देशबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक निजी साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान दिन परिसंघले आग्रह गरेको हो ।

नवनियुक्त राजदूत शर्मासँगको छलफल कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको सम्भावना भए पनि सन्तोषजनक तरिकाबाट भारतीय लगानी भित्रिन नसकेको उल्लेख
गरे । ‘नेपालमा उत्पादनमूकल एवं पूर्वाधार विकासको क्षेत्र भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ, यसमा सरकार र निजी क्षेत्र मिलेर काम गरौँ,’ अध्यक्ष अग्रवालले भने, ‘संस्थागत तवरमा नेपाल उद्योग परिसंघ आवश्यक सहजीकरणका लागि तयार छ ।’

उनले अर्थतन्त्रमा अहिले देखिएका असन्तुलन व्यवस्थापनका लागि पनि नेपालले भारतीय पर्यटक, लगानीकर्ता र ठूला कम्पनीलाई नेपालमा आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए । ‘ठूला अन्तर्राष्ट्रिय कम्पनीको उपस्थितिले देशको छवि परिवर्तनमा सहयोग पु¥याउँछ,’ अध्यक्ष अग्रवालले भने, ‘भारतका सूचना प्रविधि, उत्पादन एवं अन्य क्षेत्रका ठूला कम्पनी नेपालमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय जगतमा त्यसले दिने सन्देश फरक हुन्छ, त्यसकारण पनि हामीले उनीहरूलाई नेपालमा आकर्षित गर्नुपर्छ ।’

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग उच्च व्यापार घाटा छ । त्यसको न्यूनीकरणका लागि नेपाली वस्तुको सहज निर्यातमा पनि परिसंघले जोड दिएको छ । यसैगरी भारतीय बजारमा ऊर्जाको उच्च माग रहेकाले नेपालबाट विद्युत् निर्यातमा सहजीकरण गर्न पनि परिसंघले राजदूत शर्मासँग आग्रह गरेको छ । छलफलमा राजदूत शर्माले लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्न सक्ने बताए । उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताए । ‘हाम्रा कतिपय कानुनी व्यवस्थासँग म आफै पनि सन्तुष्ट छैन, संशोधन गरेर लगानीकर्तामैत्री बनाउन जरुरी छ,’ उनले भने, ‘आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेर लगानीकर्तालाई सहजीकरण गर्न जरुरी छ ।’ उनले उच्चस्तरीय दुईपक्षीय भ्रमणका माध्यमबाट पर्यटन तथा लगानी प्रवर्द्धनमा योगदान पु¥याउन सकिने बताए ।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालबाट भारतमा सिमेन्ट निर्यातको संभवाना रहेको उल्लेख गरे । उनले दुई देश छिमेकी मात्रै नभइ सामाजिक तथा सांस्कृतिक रूपमा निकै नजिक रहेकाले धार्मिक पर्यटन प्रवर्द्धनको गर्नुपर्नेमा जोड दिए ।

यसैगरी परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले दुई देशबिचका सन्धि सम्झौताको समयानुकूल परिवर्तन हुनुपर्नेमा जोड दिए । छलफल कार्यक्रममा परिसंघले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारका लागि राजदूत शर्मालाई विभिन्न सुझाव उपलब्ध गराएको छ । कार्यक्रममा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेश कुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल र रोहित गुप्ताका साथै विभिन्न काउन्सिलका सभापतिहरू तथा नेपालमा सञ्चालनमा रहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा काम गरिसकेका शर्मा राष्ट्रपतिबाट भारतका लागि नेपाली राजदूत नियुक्त भइसकेका छन् । उनीसँग अमेरिकाका लागि नेपाली राजदूतको रूपमा समेत काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया