स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् ।
आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँडले सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
उनले बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीका बारेमा पनि छलफल गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी भोलि तीन दिने नेपाल भ्रमणमा आउँदै छन् । त्यस्तै बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले बताए ।
प्रवक्ता पोखरेलले भने, ‘समसामयिक सुरक्षा स्थितिको बारेमा छलफल भयो । खासगरि अब निर्वाचन आउन ५० दिन बाँकी छ । निर्वाचनका सम्बन्धमा हामीले अपनाउनु पर्ने रणनीतिका सम्बन्धमा, शान्तिपूर्णरुपमा निर्वाचन सञ्चालन गर्दा अपनाउनु पर्ने रणनीतिका बारे हामीले छलफल गर्यौं । गृहमन्त्रीले शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्नलाई सबैले आ आफ्नो ठाउँबाट खटेर योगदान गर्नुपर्छ भन्नुभयो । मित्रराष्ट्र चीनका विदेशमन्त्रीको भ्रमण भोलि छ, त्यसको पनि सुरक्षा तयारी राम्रोसँग भइरहेको छ ।’

प्रतिक्रिया