‘प्रदेश सरकारले संघीयताको अनुभूति गर्न सकेन’

नेपालखोज २०७८ चैत १० गते १६:२८

काठमाडौं । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभूति गर्न नसकेको बताएका छन् ।

वाग्मती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले काठमाडौंमा आज आयोजना गरेको ‘एफ.एम. रेडियो र टेलिभिजन सञ्चालनमा कानूनी सहजीकरणका उपाय’का विषयमा सञ्चार सरोकारवालासँगको छलफलमा उनले प्रदेश सरकारले बनाएका ऐन, कानुनहरुलाई कार्यान्वयन पनि गर्न नसकेको बताए । मन्त्री खनालले संघले प्रदेशलाई अधिकार दिन नखोजेर सामन्ति चरित्र देखाएको बताए ।

उनले राजनीतिक नेतृत्व र कर्मचारी सामन्ति चरित्रबाट मुक्त हुन नसकेको भन्दै यसविरुद्ध आवाज उठाउनुपर्ने खाँचो रहेको बताए । मन्त्री खनालले प्रदेश सरकारकै मातहतको सचिव मन्त्रालयमा नहुँदासम्म संघीयता साँचो अर्थमा कार्यान्वयन हुन नसक्ने बताए । संघ मातहतका कर्मचारीले प्रदेशको समस्या बुझ्न नसकेका कारण प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएको उनले बताए । मन्त्री खनालले प्रदेश सरकारले स्थानीय तह कर्मचारी नियमावली र प्रदेश निजामती कर्मचारी ऐन ल्याउने पनि बताए ।

उनले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनलाई सरोकारवालाको भावना विपरित हुनेगरी संशोधन नगरिने पनि स्पष्ट पारे । मन्त्री खनालले सञ्चार रजिष्ट्रारको कार्यालयलाई बलियो बनाइने पनि बताएका छन् ।

प्रतिक्रिया