एमालेले स्थानीय तह चुनावमा कुनै गठबन्धन गर्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने स्पष्ट पारेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय पार्टी कमिटीले आवश्यक ठानेमा निर्वाचनमा सिटहरु एरेजमेन्ट हुन सक्ने सम्भावना पनि औंल्याए । आज पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएलगत्तै संचारकर्मीसँगको कुराकानीमा उनले एमालेलाई निर्वाचनमा अरुको बैशाखीको जरुरी नभएको पनि पटक(पटक दोहोर्याए ।
सत्तारुढ गठबन्धनप्रति संकेत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो खुट्टामाथि भरोसा नहुनेहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने तर्कसमेत गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रिय कमिटी बैठक स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्दै सोहीअनुसार सिंगो पार्टीपंक्तिलाई परिचालित गरेर अघि बढने बताए ।
परमादेशबाट निर्मित शक्तिसँग आफूहरुको निर्वाचनमा लडाईँ हुने भन्दै उनले उनीहरुलाई पराजित गरेर अघि बढने गरी तत्काल योजना बनाउने बताए । पोखरेलले स्थानीय तह निर्वाचनमा जित्ने र टिक्ने कार्यकर्ताहरुलाई उम्मेदवार बनाउने मापदण्ड पनि केन्द्रीय कमिटीले तय गरेको बताए ।

प्रतिक्रिया