‘मधेस आन्दोलनमा उठाइएका मुद्दा पूरा गर्न पुनः आन्दोलन गर्न आवश्यक’

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज पर्साको वीरगञ्जमा चुनाव लक्षित गरी आयोजना गरिएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मधेस आन्दोलनमा पीडित भएकाहरुको मुद्दा, मधेस आन्दोलनकै ऐतिहासिक रुपमा स्थापित गराउन सकिए पनि पुरा हुन नसकेको बताए । उनले मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संषर्घ गर्नुपरेको पनि स्पष्ट पारे ।
अध्यक्ष ठाकुरले विभिन्न किसिमको मुद्दामा लगाईएका नेताहरु अहिले अदालतमा तारिखमा, थुनुवा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संषर्घ गर्न नेताहरुलाई निर्देशन दिए । उनले अहिले पनि मधेश आन्दोलनमा समाहित भएकाहरु सरकारको मुद्दा खेपिरहेको बताउँदै मधेश अहिले पनि आतंकबाट मुक्त नरहेको जिकिरसमेत गरे ।
त्यस्तै वरिष्ठ नेता राजेन्द्र महतोले अगामी दिनमा कुनैपनि पार्टीसँग निर्वाचनमा तालमेल हुनसक्ने बताए । उनले आवश्यकता अनुसार जिल्लाका नेताहरुले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिए ।
वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै नेता महतोले मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाए । सत्ताका लागि मधेशी जनतालाई सहादत मात्र दिन लगाउने र मधेसवाद छैन भन्ने कुरा गलत रहेको बताए ।
वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन पार्टी लड्दै गरेकाले हकअधिकारका मुख्य एजेण्डा रहेको पनि बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ । दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेका छन् ।

प्रतिक्रिया