‘नेपालमा पानीको प्रशस्त स्रोत हुँदाहुँदै अरुको भर पर्नुपर्ने बाध्यता’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निर्णयहरु समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
आज राष्ट्रपति कार्यालय शितल निवासमा जल सम्बन्धी विभिन्न क्षेत्रका विज्ञहरुसँग पानीको संरक्षणको विषयमा छलफल गर्दै पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निर्णयहरु समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेकी हुन् ।
उनले सरकारले पानी संरक्षण गर्ने निर्णय गर्ने तर कार्यान्वयनमा समस्या भएको बताइन् । राष्ट्रपति भण्डारीले पानीको संरक्षणको लागि पाइला पाइलामा काम गर्न समस्या देखिएको भन्दै तल्लो तहबाट नै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताइन् ।
उनले सरकारले काठमाडौं उपत्यकाको भूमिगत पानी संरक्षण गर्न सके मात्रै पनि काठमाडौंमा पानीको अभाव कम हुने बताइन् । अहिले नेपालमा पानीको प्रशस्त स्रोत हुँदाहुँदै पनि अन्य स्रोतको भर पर्नुपर्ने अवस्था रहेको बताइन् । उनले पानी संरक्षण कार्यान्वयन गर्ने विषय सरकारको मात्रै नभएर जनसमुदाय पनि लाग्नु पर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले सरकारले पानीको संरक्षण गर्न जनसमुदायमा कार्यान्वयन गर्ने गरी नीति बनाउन आग्रह गरिन् । उनले सरकारले दिगो विकासको लक्ष्य हासिल गर्नको लागि जनसमुदायलाई पनि सँगै लैजानु पर्ने बताइन् । पानी संरक्षणको कार्यान्वयनमा लाने कुरामा विश्वविद्यालयहरु कमजोर भएको औल्याइन् ।
शितल निवाशमा भएको छलफलमा विज्ञहरुले सरकारको नीति र काम गराई फरक परेकोले नतिजा नआएको बताएका थिए । सरकार टुक्रा योजना र कार्यक्रममा मात्र केन्द्रित भएकोले पानी संरक्षण र दीगो उपयोगमा दीर्घकालीन सोच र योजना नै बन्न नसकेको बताए ।

प्रतिक्रिया